गान्तोक, 07 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले राज्यवासीहरूलाई पवित्र पर्व पाङ ल्हाबसोलको हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले यो पर्व केवल एउटा अनुष्ठान मात्र होइन, यो हाम्रो एकता, आस्था र भूमिका संरक्षक देवता माउन्ट कञ्चनजङ्घा र हाम्रो राज्यको रक्षा गर्ने रक्षक देवताहरूप्रति कृतज्ञताको गहिरो अभिव्यक्ति रहेको बताएका छन्।
उनले आफ्नो सन्देशमा भने, पाङ ल्हाबसोलले हामीलाई शताब्दीयौं अघि लिएको ऐतिहासिक शपथको पनि सम्झना गराउँछ, जुन पवित्र बन्धनले सिक्किमका सबै समुदायहरूमाझ सद्भावलाई प्रेरणा दिइरहेको छ। यो भाइचारा, विश्वास र एकताको भावना हो जसले हाम्रो राज्यको पहिचानलाई आकार दिएको छ र हाम्रो साझा भविष्यको मार्गदर्शक प्रकाश बनेको छ।
यो पर्वले हामीलाई हामी फरक संस्कृति र परम्पराका भए पनि हामी एक हौं र हाम्रा पवित्र पहाड, नदी र वनप्रति श्रद्धा तथा एकता र सहअस्तित्वको अटुट सम्बन्धले बाँधिएका छौं भन्ने सिकाउॅंछ भनी उनले सन्देशमा भनेका छन्। सीएपी अध्यक्षले प्रत्येक सिक्किमेहरूको खुशी, कल्याण र समृद्धिको लागि प्रार्थना गरेका छन्। हाम्रा संरक्षक देवताहरूको आशीर्वादले हामीलाई सद्भाव, प्रगति र उज्ज्वल भविष्यको दिशामा मार्गदर्शन गरून् भनी उनले कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल