एसडीएफ पार्टी सदैव सिक्किमको जनताको साथमा रहनेछ: रमेश किराँत
एसडीएफ पार्टी सदैव सिक्किमको जनताको साथमा रहनेछ: रमेश किराँत


गान्तोक, 07 सेप्टेम्बर (हि.स.)। दक्षिण सिक्किमको बरफुङ निर्वाचन क्षेत्रमा आज सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको वार्डस्तरीय सभा वार्ड संयोजक बलराम लिम्बूको अध्यक्षतामा सम्पन्न भयो। सभामा श्रीथाङ वार्ड लगायत वरिपरिका गाउँहरूबाट एसडीएफ पार्टीका समर्थकहरूको बाक्लो उपस्थिति रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।

सभामा वक्ताहरूले एसकेएम सरकारमाथि पक्षपाती नीति अपनाएको र यसकारण गाउँका जनताले धेरै दुःख भोग्नु परिरहेको आरोप लगाए। सहुलियत वितरणमा पनि वास्तविक लाभार्थीहरूलाई छुट्याएर जनतामाथि ठूलो अन्याय गरिरहेको उनीहरूले आरोप लगाए। यसैगरी, सडक मार्गहरूको दुरावास्थाका कारण जन साधारणले झेल्नु परिरहेका समस्याहरूमाथि पनि चर्चा गरियो। सभामा एसडीएफ पार्टीको वार्डस्तरीय चेली समिति तथा युवा समिति गठन गरिएको बताइएको छ।

सभामा जिल्ला कार्यकारिणी समितिका अध्यक्ष रमेश किराँतले आफ्नो वक्तव्यमा एसडीएफ जहिल्यै पनि सिक्किमको जनताको साथमा रहेको र कुनै पनि परिस्थितिमा यो पार्टी सिक्किम विरोधी तथा जनतालाई दुःख दिने, सताउने शक्तिको अघि नझुक्ने बताए। उनले एसडीएफ पार्टी जहिल्यै पनि सिक्किमको जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।

पार्टीकी वरिष्ठ उपाध्यक्ष एवम् दक्षिण जिल्ला प्रभारी सकुन गुरुङले अहिले पार्टीले हरेक क्षेत्रमा पुगेर सबै संगठनलाई सुदृढ बनाउने कार्य गरिरहेको र जिल्ला स्तरीय समिति गाउँ-गाउँ पुगेर जनतासँग भेटघाट गरिरहेको जानकारी गराइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande