सांसद सुब्बाले केन्द्रिय रक्षामन्त्रीसॅंग भेट गरे, राज्यको रणनीतिक र विकासात्मक मुद्दाहरूमा छलफल गरे
सांसद सुब्बाले केन्द्रिय रक्षामन्त्रीसॅंग भेट गरे


गान्तोक, 10 जनवरी (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहसॅंग भेट गरेर सिक्किम राज्यसँग सम्बन्धित रणनीतिक र विकासात्मक महत्वका मुद्दाहरूमा छलफल गरेका छन्। उक्त जानकारी आज एक प्रेस विज्ञप्तिमा दिइएको छ।

बैठकका क्रममा सांसदले रक्षामन्त्रीलाई नयाँ वर्षको शुभकामना दिए र भारतको रक्षा तयारीलाई सुदृढ़ पार्ने, विशेष गरी रणनीतिक रूपमा संवेदनशील सीमा क्षेत्रहरूमा, उनको नेतृत्वको प्रशंसा गरे। उनले तीन छिमेकी देशहरूसँग अन्तरराष्ट्रिय सीमा जोडिएकाले सिक्किमको रणनीतिक स्थानमाथि प्रकाश पार्दै राष्ट्रिय एकता, शान्ति र सुरक्षाप्रति राज्यको प्रतिबद्धता दोहोर्‍याए।

सांसद सुब्बाले अक्टोबर २०२३ को टिस्टा बाढीपछि उत्तर सिक्किम राजमार्गमा भएको अवरोधको बारेमा रक्षामन्त्रीलाई जानकारी गराउॅंदै यसले संवेदनशील उत्तरी क्षेत्रहरूमा नागरिक आवागमनका साथै रक्षा रसदमा प्रतिकूल असर पारेको बताए। उनले सीमा सडक संगठनले मङ्गन र नागा बीचको अन्तरिम मार्गमार्फत सम्पर्क पुनर्स्थापित गरेको भए तापनि यो मार्ग सक्रिय पैह्रो क्षेत्र भएर गएको हुनाले लामो समयसम्म टिक्न नसक्ने बताए। उनले उत्तर सिक्किममा सुरक्षित र सबै मौसममा सम्पर्क सुनिश्चित गर्न विचाराधीन स्थायी वैकल्पिक मार्गको द्रुत स्वीकृति र कार्यान्वयनको लागि अनुरोध गरे।

यस अतिरिक्त, सांसदले सिक्किमका १२ छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको मान्यता, सिक्किम विधानसभामा लिम्बू र तामाङ अनुसूचित जनजाति समुदायका लागि सिट आरक्षण र १७औं कर्मापाको सिक्किम भ्रमणको सहजीकरणको माग पनि उठाए। उनले राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको वरिष्ठ नेताको रूपमा यी मामिलाहरूमा रक्षामन्त्रीको हस्तक्षेपको माग गरे।

यसैगरी, डा. सुब्बाले सिक्किमलाई देशको बाँकी भागसँग जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग-१० को स्थिति र पाकिम विमानस्थलको चाँडो सञ्चालनको आवश्यकता जस्ता महत्वपूर्ण पूर्वाधार सरोकारहरूतर्फ पनि ध्यानाकर्षण गराए।

रक्षामन्त्री सिंहले सांसद सुब्बाद्वारा उठाइएका मुद्दाहरूलाई सम्बन्धित मन्त्रालय र एजेन्सीहरूसँग परामर्श गरी जाँच गरिने आश्वासन दिएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande