
खरसाङ, 14 जनवरी (हि.स.)। अखिल भारतीय नेवार सङ्गठन रोहिणी शाखाको स्थापना दिवस साथै शाखा कमिटी गठन कार्यक्रम आज खरसाङको रोहिणीस्थित लोवर चिसोपानी सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त कार्यक्रम भाजु रोशन प्रधानको अध्यक्षता र खरसाङ आञ्चलिक कमिटीका अध्यक्ष प्रकाश प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा भाजु सुबास प्रधान, भाजु दिपक प्रधान, भाजु राजेन प्रधान, मयजु पुनम प्रधान एवं खरसाङ आञ्चलिक समिति श्री भिमेश्वर मन्दिरका सदस्यहरू उपस्थित रहेका थिए। उक्त कार्यक्रममा नेवारी नृत्यहरू प्रदर्शन गरियो। रोहिणी नेवार परिवारजनका उच्च शिक्षा हासिल गर्न सफल युवाहरूलाई सम्मान जनाइयो।
अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिका सचिव भाजु सुबास प्रधानले सङ्गठन लगायत जनजातिको आवश्यकतामाथि प्रकाश पारेका थिए। कार्यक्रमलाई प्रमुख अतिथि भाजु प्रकाश प्रधानले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक