दिव्याङ्गजन सशक्तिकरणको सन्देशसँगै पातुकमा भव्य कलश यात्रा
कलश यात्रा


गान्तोक, 19 जनवरी (हि.स.)। कल्पतरु दिव्याङ्गजन प्रतिष्ठानद्वारा पातुकमा हिजो गणेश महापुराणको पावन अवसरमा सम्पन्न धार्मिक अनुष्ठान तथा भव्य शोभायात्रा श्रद्धाभावसहित सामाजिक एकताको उत्कृष्ट उदाहरणका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। दिव्याङ्गजनको समग्र विकास, अधिकार संरक्षण तथा समावेशी समाज निर्माणको सशक्त सन्देश बोकेको यस कार्यक्रमले सम्पूर्ण गणेश महापुराण क्षेत्रलाई भक्तिमय, उत्सवमय र सकारात्मक ऊर्जाले ओतप्रोत बनाएको थियो।

परम्परागत बाजागाजा, धार्मिक वेशभूषासहितका झाँकी, कलश बोकेका महिलाहरू, युवाहरूको उत्साहपूर्ण सहभागिता तथा ठूलो संख्यामा उपस्थित श्रद्धालु भक्तजनहरूको उपस्थितिले शोभायात्रालाई थप आकर्षक र अर्थपूर्ण बनाएको थियो। शोभायात्रा गणेश महापुराण क्षेत्रका विभिन्न मुख्य मार्ग हुँदै शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न गरिएको थियो।

कल्पतरू दिव्याङ्गजन प्रतिष्ठान सन् ५ मई २०१७ मा स्थापित भएको एक गैर–सरकारी, गैर–राजनीतिक तथा सामाजिक सेवामूलक संस्था हो। दिव्याङ्गजन बालबालिकाका अभिभावक, समान सोच भएका व्यक्तिहरू तथा शुभेच्छुकहरूको संयुक्त पहलमा स्थापना गरिएको यस प्रतिष्ठान पूर्वी सिक्किमको साम्दोङ–कम्बल जीपीयूअन्तर्गत लोअर कम्बल वार्डमा अवस्थित छ र पातुक, तुमिन–लिङ्गी क्षेत्रलाई केन्द्र बनाएर आफ्नो सेवा विस्तार गर्दै आएको छ।

प्रतिष्ठानको मुख्य उद्देश्य दिव्याङ्गजनको हितमा पक्षपोषण गर्नु, उनीहरूलाई सामाजिक तथा आर्थिक रूपमा सशक्त बनाउनु र विकासका सबै सामाजिक–आर्थिक योजनामा समान अवसर सुनिश्चित गर्नु हो। जात, धर्म, समुदाय वा आर्थिक अवस्थाका आधारमा कुनै भेदभाव नगरी उच्चस्तरीय सेवा प्रदान गर्दै दिव्याङ्गजनको जीवनस्तर उकास्नु संस्थाको प्रमुख लक्ष्य रहेको छ।

प्रतिष्ठानको दृष्टिकोणअनुसार स्थानीय आवश्यकताअनुसार समावेशी समुदाय विकासका लागि व्यापक सामुदायिक आधारित पुनर्वास सेवाको विकास गर्दै सिक्किमका प्रत्येक गाउँसम्म पुग्ने लक्ष्य लिइएको छ। केन्द्र तथा राज्य सरकार, विभिन्न संस्था, विश्वविद्यालय तथा तालिम केन्द्रहरूसँग सहकार्य गर्दै दिव्याङ्गजनका विशेष आवश्यकताअनुसार गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य प्रतिष्ठानले राखेको छ।

सामाजिक–आर्थिक विकास प्रक्रियामा दिव्याङ्गजनलाई समान सरोकारवालाका रूपमा स्थापित गराउन प्रतिष्ठानले सशक्तीकरणलाई प्राथमिकता दिँदै आएको छ। भौतिक, मानसिक, संरचनागत, सामाजिक तथा दृष्टिकोणगत अवरोधमुक्त वातावरण निर्माण गर्नु संस्थाको दीर्घकालीन लक्ष्य हो।

सन् २०१८ मा प्रतिष्ठानले उल्लेखनीय कार्यहरू सम्पन्न गरेको थियो। गाउँस्तरमा साधारण सर्वेक्षण उपकरण विकास गरी अभिमुखीकरण तालिम प्रदान गरिएको थियो। साम्दोङ–कम्बल क्षेत्रका चारवटा ग्राम पञ्चायत इकाइमा करिब १६ हजार जनसंख्या समेटेर घरदैलो सर्वेक्षण सञ्चालन गर्दा झण्डै पाँच सय दिव्याङ्गजनको पहिचान गरिएको थियो। साथै विभिन्न स्क्रिनिङ क्याम्पमार्फत दिव्याङ्गताका प्रकार पहिचान, मूल्याङ्कन तथा व्यवस्थापनका लागि आवश्यक उपकरणहरू विकास गरिएको थियो।

भविष्य योजनाअन्तर्गत प्रत्येक दिव्याङ्गजनको व्यक्तिगत मूल्याङ्कन गरी आवश्यकता अनुसार व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने, केयरगिभरका लागि छोटो तथा दीर्घकालीन तालिम प्रदान गर्ने, विश्वविद्यालय तथा तालिम संस्थासँग सहकार्य गरी दिव्याङ्गता सम्बन्धी पाठ्यक्रम विकास गर्ने र सामुदायिक स्रोत केन्द्र स्थापना गर्ने लक्ष्य रहेको प्रतिष्ठानले जनाएको छ।

यही दीर्घकालीन उद्देश्य, संस्थागत सुदृढीकरण र दिव्याङ्गजनको उज्ज्वल भविष्यप्रति सकारात्मक ऊर्जा प्रवाह गर्ने लक्ष्यसहित गणेश महापुराण तथा शोभायात्राको आयोजना गरिएको प्रतिष्ठानको भनाइ छ।

कार्यक्रममा क्षेत्रीय विधायक साम्डुप छिरिङ भोटिया, श्रम विभागका प्रतिनिधि फिगु भोटिया, पञ्चायत सेल समन्वयकर्ता हरिहर गुरागाईँ, गान्तोक जिल्लाका अध्यक्ष बलराम अधिकारी, आयुष विभागका ओएसडी दीना गौतम, सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। अतिथिहरूले दिव्याङ्गजनका लागि काल्पतरु दिव्याङ्गजन प्रतिष्ठानले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले समाजमा चेतना र समावेशी सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

धार्मिक अनुष्ठानका क्रममा बौद्ध तथा हिन्दु धर्मका आचार्यहरूले संयुक्त रूपमा प्रवचन, प्रार्थना तथा आशीर्वचन प्रदान गरेका थिए। यसले धार्मिक सहिष्णुता, आपसी सद्भाव र बहुसांस्कृतिक समाजको सशक्त सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ।

समग्रमा, गणेश महापुराण अन्तर्गत सम्पन्न नगरपूजा तथा शोभायात्रा केवल धार्मिक कार्यक्रममा सीमित नरही दिव्याङ्गजनको अधिकार संरक्षण, सामाजिक चेतना अभिवृद्धि, समावेशी विकास र सामूहिक जिम्मेवारीको स्पष्ट सन्देश बोकेको प्रेरणादायी कार्यक्रमका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande