
गान्तोक, 19 जनवरी (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले विश्वभरका तामाङ समुदायलाई पवित्र पर्व सोनाम ल्होछारको हार्दिक शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको प्रारम्भको प्रतीक यस पर्वले गहिरो सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको उनले उल्लेख गरेका छन्।
एसडीएफ अध्यक्षले आज जारी आफ्नो सन्देशमा भने, सोनाम ल्होछार नविकरण, नयाँ सुरुवात र आपसी एकताको उत्सव हो। यसले सिक्किमलाई परिभाषित गर्ने शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र विविधतामा एकता जस्ता मूल्यहरूको स्मरण गराउँछ। साथै, यस पर्वले हाम्रो सामूहिक पहिचान निर्माण गर्ने सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनको आवश्यकता पनि उजागर गर्दछ।
एसडीएफ सरकारले सांस्कृतिक मान्यता र सामाजिक न्यायप्रतिको आफ्नो दृढ़ प्रतिबद्धताका साथ तामाङ समुदायका लागि ऐतिहासिक पहलहरू गरेको उनले बताएका छन्। यस क्रममा १९९५ मा तामाङ भाषालाई राज्य भाषाको मान्यता प्रदान गरिएको, । त्यसपछि १९९६ मा सोनाम ल्होछारलाई राजपत्रित बिदा घोषणा गरिएको, केन्द्रिय ओबीसी दर्जा प्राप्त गराइएको र २००३ मा ट्राइबलको मान्यता दिलाइएको जानकारी गराएका छन्।
एसडीएफ अध्यक्षले यस पावन अवसरमा सिक्किमका संरक्षक देवताहरूसँग हाम्रो भूमि र जनतालाई शान्ति, सुरक्षा र समृद्धिको आशीर्वाद निरन्तर प्रदान गरिरहन प्रार्थना गरेका छन्। नयाँ वर्षले प्रत्येक परिवारमा सुख, स्वास्थ्य र सफलताको वर्षा गरोस्, र सिक्किमभरि सद्भाव र प्रगतिका भावनालाई अझ सुदृढ़ बनाओस् उनले कामना गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल