वाणिज्य तथा उद्योग विभाग र भारतीय वैदेशिक व्यापार संस्थानबीच एमओयूमा हस्ताक्षर
एमओमयूमा हस्ताक्षर


गान्तोक, 07 जनवरी (हि.स.)। सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले आज आफ्नो निर्यात सहजीकरण कक्ष औपचारिक रूपमा उद्घाटन गर्नुका साथै भारतीय वैदेशिक व्यापार संस्थान (आईआईएफटी), कोलकातासँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ।

विभागको सम्मेलन हलमा आयोजित कार्यक्रममा वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी युत्सोले आज हस्ताक्षर गरिएको एमओयूले स्थानीय उद्यमीहरूलाई स्थानीय तथा अन्तरराष्ट्रिय बजारमा व्यापार सहजीकरण गर्न मार्गदर्शन गर्ने उद्देश्य राखेको बताइन्। उनले उद्यमीहरूलाई नीतिगत निर्णयहरू तथा आज उद्घाटन गरिएको निर्यात सहजीकरण कक्षको उपयोगबारे मार्गदर्शन गरिने जानकारी दिइन्।

युत्सोले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा राज्यका उद्यमीहरूलाई अनुकूल वातावरण प्रदान गरिएको बताइन्। उनले ‘एक परिवार–एक उद्यमी’ योजनाका कारण राज्यमा उद्यमशीलता उल्लेखनीय रूपमा बढेको उल्लेख गर्दै सन् २०२० मा लगभग १,००० एमएसएमई उद्यमीहरू रहेको संख्या हाल करिब ३०,००० पुगेको जानकारी दिइन्।

उनले भनिन्, आईआईएफटी कोलकाताले नीतिगत संरचना निर्माण, स्थानीय उद्यमीहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम तथा विभागीय जनशक्तिको सीप विकासजस्ता महत्वपूर्ण क्षेत्रमा विभागलाई सहयोग गर्नेछ। सुबर्ण मुखियालाई निर्यात सहजीकरण कक्षको कार्य सञ्चालन सहजीकरण गर्न निर्यात समन्वयकको रूपमा जिम्मेवारी दिइएको छ। आईजीएनसीएसँगको प्रारम्भिक सम्झौता तीन वर्षका लागि गरिएको छ र वार्षिक रूपमा समीक्षा गरिनेछ।

सचिव युत्सोले निर्यात सहजीकरण कक्ष तथा सबै निर्यातसम्बन्धी गतिविधिहरू एमएसएमई मन्त्रालयअन्तर्गतको एमएसएमईको कार्यसम्पादन वृद्धि र तीव्रता योजनाअन्तर्गत पहल भएको पनि जानकारी दिइन्। उनले निर्यातकर्ताहरूले आवश्यक बिलहरू पेश गरी ५० प्रतिशत यातायात अनुदान लिन सक्ने बताइन्। उनले स्थानीय कृषि–आधारित उद्यम मेवेडिरले चेरी पेपर (डल्ले खोर्सानी) ३०० केजी सोलोमन आइल्याण्ड्स निर्यात गर्दा उक्त अनुदानको लाभ लिएको उल्लेख गरिन्। साथै निर्यात प्रयोजनका लागि कोल्ड स्टोरेज प्रयोग गरेका उद्यमीहरूलाई पनि ५० प्रतिशत अनुदान उपलब्ध गराइने बताइन्।

यसैगरी, आईआईएफटी कोलकाताका प्राध्यापक तथा केन्द्र प्रमुख डा. के. रंगराजनले आफ्नो सम्बोधनमा राज्यको निर्यात प्रणाली सुदृढ़ बनाउन वाणिज्य तथा उद्योग विभागले चालेका सक्रिय कदमहरूको प्रशंसा गरे। उनले आईआईएफटीले प्रशिक्षण कार्यक्रम, बजार मार्गदर्शन, नीतिगत सहयोग तथा ह्यान्डहोल्डिङ पहलमार्फत स्थानीय उद्यमीहरूमा निर्यात तयारी निर्माण गर्न विभागसँग नजिकबाट काम गर्ने बताए। साथै उनले दिगो निर्यात वृद्धिका लागि गुणस्तर मापदण्ड, ब्रान्डिङ र बजार पहुँचको महत्त्वमा जोड दिए।

कार्यक्रममा वाणिज्य तथा उद्योग विभाग र भारतीय वैदेशिक व्यापार संस्थानबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो। उक्त एमओमयूमा वाणिज्य तथा उद्योग विभागतर्फबाट सचिव युत्सो र आईआईएफटी कोलकातातर्फबाट प्राध्यापक तथा केन्द्र प्रमुख डा. रंगराजनले हस्ताक्षर गरे। यस अवसरमा निर्यात सहजीकरण कक्षको पनि औपचारिक उद्घाटन गरियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande