
सोनादा, 08 जनवरी (हि.स.)। रंगबुल ग्राम पञ्चायतको आयोजनामा शून्य फोहोर प्रबन्धनको विषयमा प्रथमपल्ट सचेतना कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम आज रंगबुल ग्राम पञ्चायतको 460 पुलको अजम्बरी सार्वजनिक भवनमा सम्पन्न गरियो।
रंगबुल ग्राम पञ्चायत प्रधान योजना सुब्बाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम रंगबुल ग्राम पञ्चायतले टीडीसित मिलेर गरेको थियो। रंगबुल ग्राम पञ्चायतले 20 जना परिवारलाई टीडीमा पञ्जीकरण गराएर शून्य फोहोर आन्दोलनमा सहभागी गराइएको जानकारी प्राप्त भएको छ। यसका साथै टीडीसित मिलेर रंगबुल ग्राम पञ्चायतलाई शून्य फोहोर ग्राम पञ्चायत घोषणा गरिने लक्ष्य राखिएको बताइएको छ।
रंगबुल ग्राम पञ्चायतका सचिव कमल लामाले रंगबुल ग्राम पञ्चायतले टीडीसित मिलेर विभिन्न विषयमा सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहेको र शून्य फोहोर प्रबन्धन विषयमा पनि सचेतना कार्यक्रम आयोजना गरेको बताए। उनले रंगबुल ग्राम पञ्चायतलाई शून्य फोहोर ग्राम पञ्चायत घोषणा गरिने लक्ष्य रहेको पनि बताए। उनले यो लक्ष्य हासिल गर्नका लागि टीडी र रंगबुल ग्राम पञ्चायतले मात्र पहल गरेर नहुने बताउॅंदै जनसाधारण लगायत विभिन्न संघ संस्थाहरु पनि सचेत भएर कार्य गर्नु पर्ने आवश्यकतामा जोड दिए।
यस सचेतना कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सुरज तामाङ लगायत विभिन्न संघ, संस्था र समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / हनोक