
पाकिम, 07 जनवरी (हि.स.)। पाकिम जिल्लाको आबकारी विभागले नशामुक्त भारत अभियानको पहलअन्तर्गत आज पाकिम–याक्तेन जीपीके हलमा “मदिरा तथा लागूपदार्थ दुरुपयोग” विषयमा एकदिने जनचेतना कार्यक्रम आयोजना गर्यो।
कार्यक्रममा आबकारी विभागका कर्मचारीहरू, पीआरआईका कर्मचारीहरू, पाकिम–याक्तेन जीपीयूका प्रतिनिधिहरू, साथै पाकिमका तीनवटा चालक संघ— पाकिम मेनलाइन ट्याक्सी चालक संघ, पाकिम लोकल ट्याक्सी चालक संघ र पाचे ट्याक्सी चालक संघका सदस्यहरू तथा समारिटन पुनर्स्थापना केन्द्र, चालामथाङका उपचाररत बिरामीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मदिरा लत र त्यसबाट मुक्त हुने उपाय, लागूपदार्थ दुरुपयोग रोकथाम, सुर्तीजन्य पदार्थका हानिकारक असर, मानसिक स्वास्थ्य तथा योग विषयमा विस्तृत छलफल गरियो।
कार्यक्रमको अध्यक्षता संयुक्त आयुक्त श्री राकाम सिंह राईले गर्नुभएको थियो।
विभागका संयुक्त आयुक्त रकमसिंह राईले अध्यक्षता गरेको कार्यक्रममा स्रोत व्यक्तिहरू डा. मदनमणि ढकाल, प्रमुख चिकित्सा अधिकारी (सीएमओ), पाकिम र डा. दिग्छा श्री राई, कार्यक्रम संयोजक, राष्ट्रिय सुर्ती नियन्त्रण कार्यक्रम, पाकिम र एन्ड्र्यू स्याङ्बो, परामर्शदाता, समारिटन पुनर्स्थापना केन्द्र, पाकिम रहेका थिए।
डा. मदनमणि ढकालले सुर्तीलाई “गेटवे ड्रग” को रूपमा उल्लेख गर्दै यसले अन्य हानिकारक पदार्थप्रति आकर्षण र लततर्फ डोर्याउने बताए। उनले सुर्ती, मदिरा र लागूपदार्थ दुरुपयोगका घटनामा प्रारम्भिक हस्तक्षेपको आवश्यकता औंल्याए। साथै मानसिक स्वास्थ्य सुदृढ़ राख्न योग र शारीरिक व्यायामको भूमिकामा पनि जोड दिए। उनले पाकिम पीएचसीमा गोप्य परामर्श सेवा, चिकित्सकीय उपचार तथा समग्र सहयोग उपलब्ध रहेको जानकारी गराए।
डा. दिग्छा श्री राईले सुर्ती, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थका हानिकारक प्रभावबारे विस्तृत जानकारी दिइन्। उनले चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ ऐन (कोटपा), २००३ का प्रावधानहरू र त्यसको उल्लङ्घनसम्बन्धी विषयमा प्रकाश पारिन्।
यसरी नै एन्ड्र्यू स्याङ्बोले लागूपदार्थ दुरुपयोग र त्यसबाट मुक्त हुने उपायहरूबारे जानकारी दिए। समारिटन पुनर्स्थापना केन्द्र, चालामथाङका सञ्चालक तथा परामर्शदाता समेत रहेका स्याङ्बोले उपचार चाहने व्यक्तिहरूलाई आवश्यक सहयोग र पुनर्स्थापना सेवा उपलब्ध गराइने बताए।
कार्यक्रममा अन्तरक्रिया सत्र पनि राखिएको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल