शीतकालीन फुटबल प्रशिक्षण शिविर २०२५–२६ को समापन
Winter coaching camp


सोरेङ, 07 जनवरी (हि.स.)। खेलकुद तथा युवा मामिला विभाग, सोरेङ जिल्लाले दरामदिन खेलकुद सङ्घ, सोमबारियासँगको सहकार्यमा आयोजना गरेको शीतकालीन फुटबल प्रशिक्षण शिविर २०२५–२६ आज सोमबारिया विद्यालयको खेलमैदानमा आयोजित समापन समारोहका साथ सफलतापूर्वक सम्पन्न भयो। उक्त प्रशिक्षण शिविर १० दिसम्बर, २०२५ देखि ०७ जनवरी, २०२६ सम्म सञ्चालन गरिएको थियो।

शिविरको मुख्य उद्देश्य जिल्लाका युवा फुटबल खेलाडीहरूको प्रतिभा पहिचान, प्राविधिक सीप अभिवृद्धि, तथा अनुशासन, टोली भावना र खेल भावना प्रवर्द्धन गर्नु रहेको थियो। यस प्रशिक्षण शिविरमा कुल १०४ जना फुटबल खेलाडीहरू सहभागी भई योजनाबद्ध र संरचित प्रशिक्षण सत्रहरूमा सहभागी भए।

प्रशिक्षण सत्रहरू माइकल लेप्चा, सहायक प्रशिक्षक (खेलकुद तथा युवा मामिला विभाग, सोरेङ जिल्ला) को मार्गदर्शनमा सञ्चालन गरिएको थियो।

समापन समारोहमा खेलकुद तथा युवा मामिला विभाग, सोरेङ जिल्लाकी उपनिर्देशक ममिता गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। उनले ममिता युवा खेलाडीहरूलाई अनुशासित, प्रतिबद्ध र लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गरिन्। उनले प्रशिक्षक तथा आयोजकहरूको प्रयासको प्रशंसा गर्दै सहभागीहरूलाई ७१औँ मकर सङ्क्रान्ति उत्सव २०२६ को अवसरमा जोरथाङ फुटबल मैदानमा आयोजना हुने ग्रामीण खेलकुद प्रतियोगितामा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्।

समापन समारोहका क्रममा प्रशिक्षण सफलतापूर्वक पूरा गरेका सबै सहभागी खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरियो। खेलकुद तथा युवा मामिला विभाग, सोरेङ जिल्लाले तृणमूल–स्तरको खेलकुद विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै यस्ता पहलहरूले भविष्यमा जिल्ला, राज्य तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि होनहार फुटबल खेलाडीहरू पहिचान र विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande