फुरफुरा शरिफमाथि राजनीतिक नजर, आज हुमायुँ कबीरको दौड़ाह
फुरफुरा शरिफमाथि राजनीतिक नजर, आज हुमायुँ कबीरको दौड़ाह


हुगली, 09 जनवरी (हि. स.)। चुनाउपूर्व पश्चिम बंगालमा शुरू भएको राजनीतिक चहल-पहलबीच शुक्रवार जनता उन्नयन पार्टीका चेयरम्यान औ तृणमूल कंग्रेसका निलम्बित विधायक हुमायुँ कबीरको फुरफुरा शरिफको भ्रमण राजनीतिको केन्द्र बन्न पुगेको छ। दक्षिण बंगालको अल्पसंख्यक समुदायका एक प्रमुख धार्मिक स्थलमा हुन लागेको उनको यस भ्रमणलाई लिएर राजनीतिक जगतमा चर्चा चुलिएको छ।

सूत्र मुताविक हुमायुँ कबीरले शुक्रवार फुरफुरा शरिफमा पुगेर पीरजादा तोहा सिद्दीकीसित भेट गर्न सक्नेछन्। यसको साथै इण्डियन सेक्युलर फ्रण्ट (आईएसएफ)- का संस्थापक अब्बास सिद्दीकीसित पनि उनको सम्भावित भेट हुनसक्छ।

जानकारी अनुसार हुमायुँ कबीरले जुम्मेको 'नमाज़ अदा' गरेपछि जनसम्पर्क अभियान पनि चलाउन सक्छन्। तथापि यस सम्पूर्ण कार्यक्रमलाई लिएर अहिलेसम्म न त हुमायुँ, न फुरफुरा शरिफसित सम्बन्धित कुनै प्रमुख व्यक्तिद्वारा आधिकारिक रूपमा पुष्टि गरिएको छ।

उल्लेखनीय छ, तोहा सिद्दीकीलाई तृणमूल कंग्रेसको अत्यन्तै निकटवर्ती मानिँदै आएको छ। उनले पहिलाबाटै हुमायुँ कबीरको राजनीतिमा धर्मलाई प्रयोग गरेको सन्दर्भमा खुलेर प्रश्न पनि उठाइसकेका छन्। यस्तो स्थितिमा चुनाउपूर्व यी दुई नेताहरूको सम्भावित भेटलाई अत्यन्त महत्वपूर्ण मानिँदैछ।

हुमायुँ कबीर हिजोआज आफ्ना बयान तथा गतिविधिहरूलाई लिएर लगातार चर्चामा छन्। आफ्नो भिन्नै पार्टी बनाएर उनले आफूलाई एक वैकल्पिक शक्तिको रूपमा पेश गर्ने चेष्टा शुरू गरेका छन्। बाबरी मस्जिदको पुनर्निर्माणदेखि लिएर ब्रिगेड ग्राउण्डमा नमाज जस्ता बयानहरूले अल्पसंख्यक भोट ब्यांकसित सम्बन्धित उनको रणनीतिलाई अझ प्रष्ट पारेको छ।

पछिल्लो जनगणना अनुसार पश्चिम बंगालको मोठ जनसंख्याको लगभग 27-30 प्रतिशत भाग मुस्लिम समुदायको छ। विधानसभाका 90 वटाभन्दा अधिक सीटमा अल्पसंख्यक मतदाताहरूले नै निर्णायक भूमिका निर्वाह गर्दछन् जसमध्ये अधिकांश दक्षिण बंगालमा अवस्थित छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande