
गान्तोक, 10 जनवरी (हि.स.)। सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभाग (आईपीआर) को प्रमुख पहल ‘क्रिएटिभ हब’ ले १०५औँ स्कच समिटमा ई–शासन श्रेणी अन्तर्गत सिल्भर स्कच पुरस्कार प्राप्त गरेको छ। उक्त कार्यक्रम आज नयाँ दिल्लीमा आयोजना गरिएको थियो।
आईपीआर विभागकी सचिव अन्नपूर्ण आलेले विभागको तर्फबाट पुरस्कार ग्रहण गरिन्। सचिव आलेसँग विभागका निर्देशक सुनील मोथे, डेटा विश्लेषक कर्म लामा पनि उपस्थित थिए। पुरस्कार स्कच समूहका अध्यक्ष समीर कोच्चरले प्रदान गरे।
समारोहलाई सम्बोधन गर्दै सचिव आलेले उक्त सम्मानको लागि स्कच समूहप्रति आभार व्यक्त गरिन्। उनले आईपीआर विभागका मन्त्रीसमेत रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति उनको दूरदर्शी नेतृत्व, मार्गदर्शन तथा नवीन पहलहरूलाई साकार पार्न निरन्तर समर्थनका लागि हार्दिक धन्यवाद व्यक्त गरिन्।
क्रिएटिभ हब पहल माघे मेला २०२५ को अवसरमा शुरु गरिएको एक अभिनव कार्यक्रम हो, जसले सिक्किमको सिर्जनात्मक समुदाय, उद्यमी, सांस्कृतिक तथा परम्परागत सम्पदासँग सम्बन्धित संस्थाहरूलाई आधुनिक प्रविधि र नवप्रवर्तनसँग जोड्ने कार्य गर्दछ। यस पहलले सिर्जनात्मक आदान–प्रदान, सहकार्य र समसामयिक सञ्चार अभ्यासका लागि एक सशक्त र जीवन्त मञ्च प्रदान गर्ने उद्देश्य राख्दछ।
यसै क्रममा, जिल्ला प्रशासनिक केन्द्र, गान्तोकले आफ्नो अमिन व्यवस्थापन प्रणालीका लागि स्कच जिल्ला शासन सिल्भर पुरस्कार प्राप्त गरेको छ। उक्त पुरस्कार जिल्लापाल तुषार निखारेले जिल्ला प्रशासनको तर्फबाट ग्रहण गरे।
स्कच समूह भारतको एक अग्रणी थिंक ट्याङ्क हो, जसले देशभर सुशासन तथा नवीन सार्वजनिक पहलहरूलाई पहिचान र प्रवर्द्धन गर्दछ। स्कच पुरस्कारले प्रविधिको प्रभावकारी प्रयोग, सेवा प्रवाहमा सुधार तथा नागरिकहरूमा सकारात्मक प्रभाव पार्ने परियोजना तथा संस्थाहरूलाई सम्मान प्रदान गर्दछ।
हिन्दुस्थान समाचार / बिशाल