जनताको विश्वास र जिम्मेवारीप्रति सदैव इमानदार रहनेछु: गणेश राई
गेजिङमा सीएपीको बैठक


गान्तोक, 23 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको गेजिङ जिल्ला कार्यकर्ता सभा शनिवार याङथाङ विधानसभा क्षेत्रअन्तर्गत सल्ले बस्तीमा सम्पन्न भयो। पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा सम्पन्न सभामा पार्टीका नेतृत्वहरू तथा विभिन्न तहका कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश कुमार राईले सिटिजन एक्सन पार्टी सिक्किम प्रगतिशील सुधारवादको नीति र सिद्धान्तमा दृढतापूर्वक अघि बढिरहेको बताए। उनले पार्टीको राजनीति सत्ता प्राप्तिमा मात्र सीमित नभई राजनीतिक संस्कारमा सुधार, पारदर्शिता, जवाफदेहिता, जनताको अधिकारको संरक्षण तथा उत्तरदायी शासन प्रणाली निर्माणतर्फ केन्द्रित रहेको बताए। जनताले आफूलाई दिएको जिम्मेवारीबाट आफू कहिल्यै विचलित नहुने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको विश्वास र जिम्मेवारीप्रति सदैव इमानदार रहने आश्वासन दिए। उनले कार्यकर्ताहरूलाई जनताको बीचमा रहेर उनीहरूका समस्या सुन्न, बुझ्न र जनसरोकारका विषयलाई जिम्मेवारीपूर्वक उठाउन आग्रह गरे। उनले संगठन विस्तारसँगै जनताको आवाजलाई अझ सशक्त रूपमा उठाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्ताहरूलाई सिद्धान्त, अनुशासन र जनसेवाको भावनाका साथ अघि बढ्न आह्वान गरे।

कार्यक्रममा याङथाङ विधानसभा क्षेत्रीय कार्यकारिणी परिषद्का अध्यक्ष फिपधोज लिम्बूले आफ्नो निर्वाचन क्षेत्रमा सडकको दयनीय अवस्थालगायत स्थानीय जनताले भोगिरहेका विभिन्न समस्यालाई प्रमुखताका साथ उठाए। उनले लिम्बू-तामाङ सीटको विषयमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री स्वयं तामाङ समुदायबाट भए तापनि यस विषयमा अहिलेसम्म ठोस पहल हुन नसकेको बताए। उनले सरकार स्वयं यस विषयलाई अघि बढाउन इच्छुक नदेखिएको हो कि भन्ने प्रश्नसमेत उठाए।

अखिल सिक्किम विद्यार्थी कल्याण परिषद्, गेजिङ जिल्ला अध्यक्ष रीमा चापागाईंले आफ्नो सम्बोधनमा मुख्यमन्त्रीसमक्ष विभिन्न प्रश्नहरू उठाउँदै सरकारका योजना तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा जवाफदेहिताको प्रश्न गरिन्। उनले राजनीतिमा हराउँदै गएको स्वस्थ राजनीतिक संस्कारलाई पुनःस्थापित गर्नुपर्नेमा जोड दिँदै, “जस्तो राजनीतिक वातावरण हामी निर्माण गर्छौं, त्यस्तै राजनीतिक संस्कार र भविष्यको वातावरण निर्माण हुन्छ” भन्ने धारणा राखिन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande