
- संविधानको प्रावधान अनुरुप गोर्खा जातिलाई सुरक्षा गरिनेछ, सय प्रतिशत न्याय हुनेछ: मन घिसिङ
दार्जिलिङ, 23 अगस्त (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जिलिङ ब्राञ्च कमिटीको तत्वावधानमा आज ३८औं गोर्खा नागरिकता दिवस समारोह भव्य रुपमा पालन गरियो। दार्जिलिङको गोर्खा रंगमंच भवन सुवास घिसिङ रंगशालामा सम्पन्न समारोहमा गोरामुमो अध्यक्ष मन घिसिङ प्रमुख आतिथि थिए।
कार्यक्रममा १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो महत्त्वपूर्ण योगदान दिने शहीद परिवार साथै कर्मठ सदस्यहरुलाई गोरामुमो अध्यक्ष मन घिसिङको बाहुली द्वारा सम्मान जनाइयो।
आफ्नो वक्तव्य राख्दै गोरामुमो अध्यक्ष मन घिसिङले भने, आजको दिनको भनेको गोर्खाहरुले नागरिकता प्राप्त गरेको ऐतिहासिक दिन हो। आजको कार्यक्रम खेलाइची होइन धेरैले बलिदान दिएको दिन हो। राम्रो दिन आउँदैछ। मैले जाति र माटो मात्र देखेको छु, गल्ती कदापि हुनेछैन। तपाईंहरुको योगदानलाई कदापि भुल्ने छैनौं। अब यहाँ देखि उता मेरो कर्तव्य हो पूरा गर्ने। अब भाग्य बिगार्न दिने छैनौं। आउने भावी सन्तानको भाग्य राम्रो छ।
उनले हिजोको बैठकलाई ऐतिहासिक बताउँदै भने, अब पटरी चड्यो अब बिगार्नु दिन्न। गृहमन्त्री अमित शाहलाई धेरै विश्वास गरेको थिए, त्यो विश्वास अझ दह्रिलो भएको छ। सिलगढीमा सम्पन्न बैठकमा भारतको संविधानको प्रावधान अनुरुप गोर्खा जातिको सुरक्षा गरिने भएको छ। संविधानमा हाम्रो अब एक पन्ना हुनेछ। सय प्रतिशत अब हाम्रो न्याय हुनेछ। जाति र माटोको निम्ति लडेकाहरुलाई अपमान गर्नु हुँदैन, सम्मान गर्नु पर्छ। झण्डा थमाउनुको निम्ति मैले राजनीति गरेको होइन, जातिको उन्मुक्तिको गरेको हो। अब तपाईंहरुले चिताएको मनोकामनाहरु अब पूरा हुनेछ।
---------------
हिन्दुस्थान समाचार / हनोक