
गान्तोक, 23 अगस्त (हि.स.)। सहकारिता विभाग, गान्तोक जिल्ला र सिक्किम स्टेट को-अपरेटिभ ब्याङ्क लिमिटेड (सिस्को) को सहकार्यमा आज १२,८०० फिटको उचाइमा अवस्थित नाथाङमा वित्तीय साक्षरता तथा सहकारी सदस्यता अभियानसहित सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रमको उद्देश्य स्थानीय समुदायमा ब्याङ्किङ तथा वित्तीय सेवा, ऋण सुविधा, सरकारी योजना, सुरक्षित ब्याङ्किङ अभ्यास तथा सहकारी संस्थाबाट प्राप्त हुने लाभबारे जानकारी प्रदान गर्दै वित्तीय साक्षरता र सहकारी चेतना अभिवृद्धि गर्नु रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सहकारिता विभागकी अतिरिक्त रजिस्ट्रार केसाङ याङ्की भोटियाले बहुउद्देश्यीय सहकारी संस्था (एमपीसीएस) लाई समुदायको विकासमा योगदान पुर्याउने व्यावसायिक संस्थाका रूपमा विकास गर्न सकिने बताइन्।
एमपीसीएस र यसका शेयरधनीबीच दुईतर्फी व्यावसायिक सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै उनले सदस्यहरूले संस्थाका सेवामा सक्रिय रूपमा सहभागी भई त्यसबाट लाभ लिनुपर्नेमा जोड दिइन्। एमपीसीएसका निर्वाचित प्रतिनिधिहरूको कार्यकाल पाँच वर्ष हुने जानकारी पनि उनले दिइन्।
उनले एमपीसीएसमार्फत विद्युत् बिल भुक्तानीलगायत स्थानीय आवश्यकतासँग सम्बन्धित विभिन्न सेवा सञ्चालन गर्न सकिने बताइन्। प्रधानमन्त्री विश्वकर्मा योजनाअन्तर्गत उपलब्ध अनुदानसहितको ऋण तथा सिस्कोका विभिन्न ऋण योजनाको उपयोग गर्न सदस्यहरूलाई आग्रह गर्दै उनले डीएमए क्यास केन्द्रको सुविधा प्रयोग गर्न पनि अनुरोध गरिन्।
नाथाङ तथा आसपासका क्षेत्रको पर्यटन सम्भावनाबारे चर्चा गर्दै भोटियाले पर्यटन प्याकेज तथा टुर गाइड सेवाको विकास गरी स्थानीय गन्तव्यहरूको निर्देशित भ्रमण सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। यस्ता पहलले स्थानीय पर्यटन क्षेत्रलाई सुदृढ़ गर्नुका साथै समुदायका लागि रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना गर्न सक्ने उनले बताइन्।
उनले एमपीसीएसमार्फत क्याटरिङ सेवा, सैलुन तथा कोटाआधारित विभिन्न गतिविधि सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि जानकारी दिइन्। भाइब्रेन्ट भिलेज कार्यक्रमअन्तर्गत क्याफेटेरिया स्थापना, इन्टरनेट सुविधा सुधार तथा राज्य सरकारका विभिन्न योजना र अनुदान सुविधाको अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिइन्।
सिस्को ब्याङ्क लिमिटेड, गान्तोक शाखाकी प्रबन्धक छिरिङ डोमा भोटियाले वित्तीय साक्षरताको महत्त्वबारे जानकारी दिँदै स्थानीय समुदायका लागि उपलब्ध विभिन्न ब्याङ्किङ्ग तथा वित्तीय सेवाबारे जानकारी गराइन्। उनले नियमित बचत, जिम्मेवार वित्तीय योजना तथा सोचविचार गरेर वित्तीय निर्णय लिनुपर्नेमा जोड दिइन्।
उनले एमपीसीएसमार्फत सदस्यहरूलाई ऋण तथा कर्जा सुविधामा पहुँच प्राप्त गर्न सकिने बताउँदै समुदायलाई आफ्ना वित्तीय आवश्यकताका लागि सहकारी संस्थाको उपयोग गर्न आग्रह गरिन्। साथै, कृषि तथा सम्बन्धित गतिविधिका लागि योग्य किसानलाई ऋण सुविधा उपलब्ध गराउने किसान क्रेडिट कार्ड (केसीसी) बारे पनि जानकारी दिइन्।
डिजिटल वित्तीय ठगी तथा साइबर अपराधप्रति सचेत गराउँदै उनले अपरिचित व्यक्तिसँग ओटीपी, पिन, पासवर्ड तथा ब्याङ्क खाता विवरणजस्ता गोप्य जानकारी साझा नगर्न आग्रह गरिन्। डिजिटल ब्याङ्किङ्ग प्रयोग गर्दा सतर्क रहन तथा कुनै शंकास्पद वा अनधिकृत कारोबार भएमा तत्काल सम्बन्धित बैंकलाई जानकारी गराउन उनले अनुरोध गरिन्।
हिन्दुस्थान समाचार / बिशाल