
गान्तोक, 10 जनवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको मल्ली निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा आज मल्लीमा सम्पन्न भयो। सभामा आगामी रणनीतिहरू तय गर्ने उद्देश्यले सक्रिय बहस भएको विज्ञप्तिमा बताइएको छ।
आफ्नो अध्यक्षीय सम्बोधनमा पार्टी गणेश राईले लोकतान्त्रिक व्यवस्थामा विपक्षी दल लोकतन्त्रको आत्मा हो भने सिक्किममा विपक्षी दलहरूलाई सुविधा, अधिकार र स्वतन्त्रताबाट वञ्चित गरिँदै आएको आरोप लगाए। उनले यस्ता विषयमा अब सीएपी सिक्किमले सशक्त बहस र संघर्ष अघि बढाउने स्पष्ट पारे।
उनले पार्टी क्रमशः मजबुत हुँदै गएको बताउॅंदै पार्टीले विपक्षको भूमिका, दायित्व र आवाज जनतासमक्ष स्पष्ट रूपमा प्रस्तुत गरिने बताए। उनले अधिकारसहित सम्मानजनक जीवन बाँच्न सकिने वातावरण निर्माण गर्नु पार्टीको प्रमुख उद्देश्य रहेको बताए।
देशको संविधानले जनतालाई सर्वेसर्वा बनाएको भए पनि वर्तमान सरकारले संविधानलाई ‘गोजीमा राखी’ आम नागरिकमाथि शोषण गरिरहेको आरोप लगाए। उनले सीएपी सिक्किम संविधानद्वारा प्रदत्त सम्पूर्ण अधिकार जनतामै हस्तान्तरण गर्ने लक्ष्यसहित राजनीति गरिरहेको बताए।
सभामा सीएपी नेतृत्वहरूले राज्यको भविष्यलाई सही दिशामा लैजान सीएपी सिक्किमको स्थापना भएको बताए। आम जनतामाथि अनावश्यक करको बोझ थोपरेर सत्ता पक्ष मेला, नाच–गान र देखावटी उत्सवमा रमाइरहेको पनि उनीहरूले आरोप लगाए।
हिन्दुस्थान समाचार / बिशाल