
गान्तोक, 01 अक्टूबर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले ३० सेप्टेम्बरमा केन्द्रिय जलशक्ति मन्त्री सीआर पाटिलसँग भेट गरी सिक्किम सरकारको हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) जोखिम न्यूनीकरणसम्बन्धी समग्र प्रस्तावबारे जानकारी गराएका छन्।
भेटका क्रममा डा. सुब्बाले विशेषगरी २०२३ अक्टोबरमा आएको विनाशकारी दक्षिण ल्होनाक हिमताल विस्फोटजन्य बाढीको पृष्ठभूमिमा तल्लो तटीय क्षेत्रका जनजीवन, समुदाय, जीविकोपार्जन तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षाका लागि सक्रिय र वैज्ञानिक आधारमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले सिक्किम सरकारको प्रस्तावअनुसार, राज्य सरकार र ब्रह्मपुत्र बोर्डबीच औपचारिक प्राविधिक साझेदारी कायम गर्न जलशक्ति मन्त्रीसमक्ष आग्रह गरे।
यसअन्तर्गत जलविज्ञान तथा प्राविधिक अध्ययन गर्न बहुविषयगत प्राविधिक टोली गठन गर्ने, उपयुक्त संरचनात्मक तथा गैरसंरचनात्मक जोखिम न्यूनीकरणका उपायको मूल्याङ्कन गर्ने र कार्यान्वयनयोग्य विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रस्ताव गरिएको छ।
सिक्किम सरकारले आवश्यक स्थलगत तथा तार्किक सहयोग उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ। डा. सुब्बाले प्रक्रिया समयबद्ध रूपमा अघि बढाउन आग्रह गर्दै प्रभावकारी जोखिम न्यूनीकरण भविष्यमा विपत्ति आएपछि गरिने उद्धार तथा राहतमा मात्र सीमित नभई सम्भावित विपत्तिभन्दा अगावै कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
भेटमा सिक्किमको दीर्घकालीन हिमताल विस्फोटजन्य बाढी जोखिम न्यूनीकरण तयारी सुदृढ़ गर्न तथा समुदाय र महत्वपूर्ण पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न केन्द्र सरकारबाट ठोस सहयोग प्राप्त गर्ने विषयमा छलफल भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल