जन्तर-मन्तरमा प्रदर्शनमा सहभागी हुन जर्मनीबाट आएका युट्युबर ध्रुव राठी हिरासतमा
यू-ट्यूबर ध्रुव राठी। फोटो -  इंटरनेट मीडिया


नयाँ दिल्ली, १० अक्टोबर (हि.स.)। दिल्ली पुलिसले राजधानीको जन्तर-मन्तरमा आज प्रस्तावित ककरोच जनता पार्टी (सीजेपी) को प्रदर्शन शुरु हुनुअघि चर्चित युट्युबर ध्रुव राठीलाई हिरासतमा लिएको छ। हालै जर्मनीबाट भारत फर्किएका राठीलाई हरियाणाको गुरुग्रामस्थित उनको निवासबाट हिरासतमा लिइएको हो।

दिल्ली पुलिस बिहान करिब ७ बजेर ४८ मिनेटमा गुरुग्रामको सेक्टर ५६ स्थित सेन्ट्रल पार्क विहारमा रहेको उनको घरमा प्रवेश गरेको थियो। उक्त घरमा राठीको परिवार बस्दै आएको छ। प्राप्त जानकारीअनुसार, राति नै दिल्ली पुलिसका करिब ५० जना जवान सादा पोसाकमा उनको घरबाहिर तथा आसपासका क्षेत्रमा तैनाथ भएका थिए। प्रदर्शनमा सहभागी हुन राठी केही दिनअघि जर्मनीबाट भारत फर्किएका थिए।

ध्रुव राठी चर्चित युट्युबर, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व तथा राजनीतिक र सामाजिक टिप्पणीकार हुन्। उनी समसामयिक घटनाक्रम, सामाजिक-राजनीतिक विषय, वातावरण र इतिहासजस्ता विषयमा विश्लेषणात्मक भिडियो निर्माण गर्नका लागि परिचित छन्।

उनको जन्म ८ अक्टोबर, १९९४ मा हरियाणाको रोहतकमा भएको थियो। उनका पिता इन्जिनियर र आमा शिक्षिका हुन्। उच्च शिक्षा हासिल गर्न उनी १७ वर्षको उमेरमा जर्मनी गएका थिए।

उच्च शिक्षा पूरा गरेपछि राठीले २०१४ मा आफ्नो युट्युब च्यानल शुरु गरेका थिए। शुरुमा उनले आइफोनको सहयोगमा यात्रा सम्बन्धी भिडियो बनाएर सार्वजनिक गर्थे। त्यसपछि उनले देश तथा विदेशका गम्भीर राजनीतिक, आर्थिक र सामाजिक विषयलाई सरल भाषामा तथ्याङ्क तथा चित्राङ्कनको माध्यमबाट व्याख्या गर्न थाले। तथ्य जाँच र शैक्षिक जानकारीमा आधारित उनको प्रस्तुतिलाई दर्शकहरूले रुचाएका छन्।

उनले भारतीय दर्शकलाई लक्षित गर्दै तमिल, तेलुगु र बङ्गालीलगायत विभिन्न क्षेत्रीय भाषामा समेत युट्युब च्यानल सञ्चालन गरेका छन्। उनका सबै डिजिटल माध्यममा करोडौँ अनुयायी छन्। उनको मुख्य युट्युब च्यानलमा मात्रै चार करोडभन्दा बढी सदस्य रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande