बदलिँदो युद्धमा प्रविधि, शीघ्र निर्णय, आत्मनिर्भरता र सामरिक साझेदारी आवश्यक : राजनाथ सिंह
jodhpur


जोधपुर, १० अक्टोबर (हि.स.)। भारतका रक्षामन्त्री राजनाथ सिंहले बदलिँदो युद्धको स्वरूपलाई ध्यानमा राख्दै प्राविधिक क्षमता, शीघ्र निर्णय र सटीक कारबाहीलाई सैन्य शक्तिको प्रमुख आधार बताएका छन्। उनले मित्र राष्ट्रसँग रक्षा प्रविधि, संयुक्त विकास र संयुक्त उत्पादनका क्षेत्रमा सहकार्य बढ़ाउनुपर्नेमा जोड दिँदै भविष्यको रक्षा साझेदारीमा प्रविधि र आपसी विश्वासको महत्त्वपूर्ण भूमिका रहने बताए।

शनिवार जोधपुर वायुसेना केन्द्रमा आयोजित अन्तरराष्ट्रिय हवाई सैन्य अभ्यास ‘तरंग शक्ति–२०२६’ को कार्यक्रममा सहभागी भएका रक्षामन्त्रीले भारतीय वायुसेनाका जवान, मित्र राष्ट्रका वायुसेना प्रमुख, सैन्य अधिकारी, पाइलट तथा प्रतिनिधिमण्डलसँग भेट गरे। उनले अभ्यास सफलतापूर्वक आयोजना गरेकोमा भारतीय वायुसेना र सम्बन्धित संस्थाहरूलाई बधाई दिए।

राजनाथ सिंहले बहुराष्ट्रिय सैन्य अभ्यासले विभिन्न देशका वायुसेनालाई एकअर्काको अनुभव, प्रविधि र रणनीति बुझ्ने अवसर प्रदान गर्ने बताए। यसबाट आपसी विश्वास बढ्नुका साथै सैन्य सञ्चालनमा समन्वय बलियो हुने उनको भनाइ थियो।

उनी अनुसार, आधुनिक युद्ध अब स्थल, जल र आकाशमा मात्र सीमित छैन। अन्तरिक्ष, साइबर क्षेत्र, विद्युत् चुम्बकीय स्पेक्ट्रम र सूचना क्षेत्र पनि युद्धका महत्त्वपूर्ण हिस्सा बनेका छन्। कृत्रिम बुद्धिमत्ता, विद्युतीय युद्ध प्रणाली र लामो दूरीसम्म सटीक प्रहार गर्न सक्ने हतियारले युद्धको स्वरूप र गति परिवर्तन गरेका छन्।

भविष्यमा सैन्य शक्तिको मूल्याङ्कन हतियारको सङ्ख्याका आधारमा मात्र नहुने उल्लेख गर्दै उनले शत्रुको गतिविधि बुझ्ने, छिटो निर्णय लिने र सटीक कारबाही गर्ने क्षमता पनि निर्णायक हुने बताए।

स्वदेशी रक्षा क्षमतामा जोड

रक्षामन्त्रीले वर्तमान विश्व परिस्थिति र तीव्र गतिमा बदलिँदो भूराजनीतिक परिवेशमा प्रत्येक देश सतर्क रहन आवश्यक रहेको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले रक्षा क्षेत्रमा आत्मनिर्भरतालाई राष्ट्रिय नीतिका रूपमा अपनाएको उल्लेख गर्दै उनले लामो समयसम्म चल्ने युद्धको सामना गर्न स्वदेशी हतियार तथा महत्त्वपूर्ण प्रविधि उत्पादन गर्ने क्षमता विकास गर्नुपर्ने बताए।

उनले स्वतन्त्रताका बेला सीमित स्रोतसाधनबाट शुरु गरेको भारतीय वायुसेना अहिले आधुनिक विमान, सटीक प्रहार गर्ने हतियार, उन्नत संवेदक र एकीकृत सञ्जाल सहित सक्षम सैन्य बल बनेको बताए। तेजस लड़ाकू विमान, ध्रुव र प्रचण्ड हेलिकप्टर, हल्का उपयोगी हेलिकप्टर, आकाश वायु रक्षा प्रणाली तथा उन्नत राडार प्रविधिलाई उनले भारतको स्वदेशी रक्षा क्षमताका उदाहरणका रूपमा प्रस्तुत गरे।

उनी अनुसार, उन्नत मध्यम लड़ाकू विमान कार्यक्रम अन्तर्गत पाँचौँ पुस्ताको अदृश्य क्षमतायुक्त लड़ाकू विमानको प्रविधि विकास गर्ने काम पनि भइरहेको छ।

मित्रराष्ट्रसँग रक्षा सहकार्य विस्तारमा जोड

राजनाथ सिंहले रक्षा अनुसन्धान, संयुक्त विकास तथा उत्पादन, मर्मतसम्भार, तालिम र प्राविधिक नवप्रवर्तनका क्षेत्रमा मित्रराष्ट्रसँग सहकार्यका व्यापक सम्भावना रहेको बताए। भविष्यमा रक्षा सम्बन्ध हतियार र सैन्य उपकरणमा मात्र सीमित नरहने उल्लेख गर्दै उनले प्रविधि र आपसी विश्वासलाई यसको प्रमुख आधार बताए।

भारतले स्वदेशी रक्षा क्षमता सुदृढ़ बनाउनुका साथै विश्वसनीय साझेदार राष्ट्रसँग सहकार्य विस्तार गर्न चाहेको उनले स्पष्ट पारे।

‘तरंग शक्ति–२०२६’ लाई यस दिशामा महत्त्वपूर्ण पहल बताउँदै उनले यस्ता बहुराष्ट्रिय सैन्य अभ्यासले विभिन्न देशका वायुसेनालाई प्रविधि, रणनीति र सञ्चालन सम्बन्धी अनुभव आदान-प्रदान गर्ने अवसर दिने बताए। यसले संयुक्त रूपमा काम गर्ने क्षमता र आपसी समन्वय बढ़ाउनुका साथै भविष्यका सुरक्षा चुनौती सामना गर्ने तयारीलाई बलियो बनाउने उनको भनाइ थियो।

यस अभ्यासमार्फत भारतले अन्तरराष्ट्रिय रक्षा सहकार्य, स्वदेशी प्रविधि, सामरिक साझेदारी र मित्रराष्ट्रसँग आपसी विश्वास सुदृढ़ गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande