
कोलकाता, 13 अक्टोबर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको बारुइपुर महकुमा अस्पतालमा उपचाररत् एकजना विचाराधिन बन्दीको अप्राकृतिक मृत्युले खैलाबैला मच्चाएको छ। गए सोमवार अस्पताल परिसरभित्र उक्त बन्दीको झुण्डिरहेको अवस्थामा शव फेला पऱ्यो। मृतकको पहिचान जीवनतला थाना क्षेत्रका बासिन्दा अजहरुल लस्करको रूपमा भएको छ। सरकारी अस्पतालमा भएको यस घटनाले कैदीको सुरक्षामा तैनाथ पुलिस कर्मीहरूको भूमिका र निगरानी व्यवस्थामाथि गम्भीर प्रश्न उत्पन्न गरेको छ।
प्राप्त जानकारी अनुसार अजहरुल लस्करले एकजना नाबालिकासित विवाह गरेका थिए। नाबालिकाको परिवारको उजुरीको आधारमा पुलिसले उनलाई गत 10 अक्टोबरको दिन पक्राउ गरेको थियो। अदालतमा पेश गरेपछि उनलाई न्यायिक हिरासतमा बरुइपुर सुधारगृह (जेल)-मा पठाइएको थियो। जेलमा परेको भोलिपल्ट 11 अक्टोबरमा उनले आत्महत्या गर्ने प्रयास गरे। शारीरिक अस्वस्थताको कारणले उनलाई बारुइपुर महकुमा अस्पतालमा भर्ना गरिएको थियो जहाँ सोमवार राती उपचारको क्रममा उनको संदिग्ध अवस्थामा मृत्यु भयो।
अस्पतालमा पुलिसले कड़ा निगरानी राखेको भए पनि विचाराधिन कैदीको मृत्यु कसरी भयो भन्ने प्रश्न उठिरहेको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएर घटनाको अनुसन्धान शुरु गरेको छ। घटना घटिरहँदा पर्याप्त सुरक्षा व्यवस्था थियो कि थिएन, त्यस समयमा वरपर को-को थिए र मृत्यु हुनुअघि के भएको थियो भन्नेबारे जाँच अधिकारीहरूले पत्तो लगाउने प्रयास गरिरहेका छन्।
यस सन्दर्भमा बारुइपुर विभागीय अस्पतालका अधीक्षक सुपर्णकान्ती हल्दरले बताए, कैदीलाई पेटको रोगसँगसँगै मानसिक समस्या पनि थियो। प्राथमिक रूपमा अनुमान लगाइँदैछ, यसै मानसिक तनाउका कारण उनले आत्महत्या गरेको हुनसक्छ। हाल पुलिस अनि अस्पताल प्रशासनले सम्पूर्ण घटनाको गहन अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा