गुवाहाटीः दुर्गा पूजामा पुलिसको कड़ाई, राती 10 बजेपछि चर्को सङ्गीतमाथि प्रतिबन्ध, पण्डालहरूमा सीसीटीभी अनिवार्य
दुर्गा प्रतिमा। फाइल फोटो


गुवाहाटी, 15 अक्टोबर (हि.स.)। असमको राजधानी गुवाहाटीमा दुर्गा पूजा समारोहलाई सुरक्षित एवं शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउनको लागि पुलिसले कड़ा दिशानिर्देश जारी गरेको छ। यसमा ध्वनि प्रदूषण नियन्त्रण, सुरक्षा व्यवस्था, भीड़ व्यवस्थापन तथा सड़क सुरक्षामाथि विशेष जोड़ दिइएको छ। पुलिसले पूजा समिति र श्रद्धालुहरूसित निर्धारित नियमहरू पालना गर्ने अपील गरेको छ।

पुलिसको दिशानिर्देश अनुसार पूजा समितिहरूलाई राती 10 बजेपछि माइक्रोफोनको माध्यमबाट चर्को स्वरमा सङ्गीत बजाउन अनुमति दिइने छैन। प्रत्येक पूजा समितिले यो सुनिश्चित गर्नुपर्छ कि पण्डालमा रातभरि स्वयंसेवकहरू उपस्थित रहोस्। सुरक्षा र भीड़ व्यवस्थापनको लागि प्रशिक्षित स्वयंसेवकहरूलाई तैनाथ गर्न अनिवार्य गरिएको छ।

पूजा अवधिभरि सुरक्षा व्यवस्थालाई बलियो बनाइराख्नको लागि पुलिसले पोशाकमा पण्डाल लगायत वरपरका क्षेत्रहरूमा नजर राख्नेछ। साथै प्रत्येक पूजास्थलमा सीसीटीभी क्यामरा जड़ान अनिवार्य गरिएको छ।

भीड़ व्यवस्थित राख्न पूजा पण्डालमा पुरुष र महिलाका लागि छुट्टा-छुट्टै प्रवेश एवं निकास मार्ग बनाउन निर्देश दिइएको छ। समारोहमा रक्सी पिउनेहरूविरुद्ध कड़ा कारबाही गरिने पुलिसले चेताउनी दिएको छ।

सडक सुरक्षाको सम्बन्धमा पनि पुलिसले कड़ाई गर्ने निर्देश दिएको छ। मोटरसाइकल चलाउने र पछि बस्ने, दुवैले हेलमेट लगाउनु अनिवार्य हुनेछ।

यसरी नै पाण्डु र लचित घाटमा दुर्गा प्रतिमा विसर्जन गर्नको लागि विशेष प्रबन्ध गरिएको छ ताकि विसर्जनको बेलाम सुरक्षा एवं व्यवस्थालाई कायम राख्न सकियोस्।

पुलिसको भनाइ छ, यी दिशानिर्देशहरूको उद्देश्य दुर्गा पूजामा कानुन- व्यवस्थालाई कायम राख्ने तथा दुर्गा पूजाको समयमा श्रद्धालुहरूको सुरक्षा सुनिश्चित गर्नु हो। पुलिसले पूजा समिति र सर्वसाधारणलाई सहयोग गर्ने अनि सबै नियमहरू पालना गर्ने अपील गरेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande