
नयाँ दिल्ली, १५ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार भीडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग ३,३५० करोड़ रुपियाँका पाँच विकास परियोजनाको उद्घाटन गरे। यी परियोजनाले यस क्षेत्रमा हवाई सम्पर्क, सामरिक सड़क सञ्जाल, विद्युत आपूर्ति, सांस्कृतिक सम्पदाको संरक्षण तथा जल सुरक्षालाई सुदृढ़बनाउने अपेक्षा गरिएको छ।
यस अवसरमा प्रधानमन्त्रीले लद्दाखको प्रगति र विकासमा आज एउटा नयाँ अध्याय थपिएको बताए। यी परियोजनाले मानिसहरूको यात्रा सहज बनाउनुका साथै विद्युत र पानीको उपलब्धतामा सुधार ल्याउने तथा प्राचीन सम्पदाको संरक्षणलाई थप बल प्रदान गर्ने उनले बताए। परियोजनाको निर्माणमा योगदान पुर्याउने इन्जिनियर, श्रमिक, स्थानीय बासिन्दा तथा सीमा सड़क सङ्गठन (बीआरओ) का कर्मचारीहरूको उनले प्रशंसा गरे।
प्रधानमन्त्रीले लेह स्थित कुशोक बकुला रिन्पोछे विमानस्थलमा लगभग ६४० करोड़ रुपियाँको लागतमा निर्माण गरिएको नयाँ यात्रु टर्मिनल भवनको उद्घाटन गरे। लगभग २३,८०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस टर्मिनलको वार्षिक यात्रु क्षमता १० लाखबाट बढ़ेर लगभग ३५ लाख पुग्नेछ। ऊर्जा दक्षता बढ़ाउन र कार्बन उत्सर्जन घटाउन यसमा भू-तापीय ऊर्जामा आधारित ताप प्रणालीको व्यवस्था गरिएको छ। आधुनिक यात्रु सुविधा सहित लद्दाखको सांस्कृतिक सम्पदालाई समेटिएको यस टर्मिनलले क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउनेछ।
मोदीले २९८ किलोमिटर लामो निमु–पदम–दार्चा सड़क पनि राष्ट्रलाई समर्पण गरे। लगभग २,५०० करोड़ रुपियाँको लागतमा निर्माण गरिएको यस सड़कले लेहको निमुलाई हिमाचल प्रदेशको दार्चासँग जोड्छ र जास्कर उपत्यकाबाट भएर जान्छ। प्रधानमन्त्रीले यस सड़कमार्गबाट पहिले लगभग १२ घण्टामा पूरा हुने यात्रा अब लगभग तीन घण्टामा पूरा गर्न सकिने बताए। यसबाट स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै व्यापार तथा व्यवसायलाई पनि लाभ पुग्नेछ। यस सड़कले श्रीनगर–लेह र मनाली–लेह राजमार्गका अतिरिक्त अर्को सम्पर्क मार्ग उपलब्ध गराउनेछ। साथै, दुर्गम सीमावर्ती क्षेत्रमा सशस्त्र बलको आवागमन तथा रसद आपूर्तिलाई सुदृढ़ बनाउनेछ।
प्रधानमन्त्रीले नौ मेगावाट क्षमताको लघु जलविद्युत् परियोजना र ६६ केभी क्षमताको दोहोरो सर्किटयुक्त दाह–हानु–खल्सी विद्युत प्रसारण लाइनको पनि उद्घाटन गरे। यी परियोजनाबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्नुका साथै उत्पादित विद्युत् प्रसारण प्रणाली थप सुदृढ़ हुने अपेक्षा गरिएको छ। यस बाहेक उनले लेहको सिन्धु घाटमा भारतकै पहिलो शैलचित्र संरक्षण उद्यानको उद्घाटन गरे। यस उद्यानले क्षेत्रमा रहेका प्राचीन शैलचित्र तथा चट्टानमा कुँदिएका आकृतिहरूको संरक्षण, जनचेतना अभिवृद्धि र सम्पदा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।
मोदीले ‘परियोजना अमृत हिम सरोवर’ अन्तर्गत लद्दाखका ४० गाउँमा निर्माण गरिएका ४० वटा जलाशयको पनि उद्घाटन गरे। यस पहलको उद्देश्य जल संरक्षण गर्नु र उपलब्ध पानीको प्रभावकारी व्यवस्थापन गर्नु हो। यी जलाशयले बाली लगाउने महत्त्वपूर्ण समयमा किसानलाई पानी उपलब्ध गराउन, सिँचाइमा सुधार ल्याउन र कृषि पेसालाई दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीले केन्द्र सरकार लद्दाखको विकास तथा यहाँका नयाँ पुस्तालाई राम्रो अवसर उपलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको बताए। लेहमा उत्कृष्टता केन्द्र विकास गरिँदै छ भने भारतीय प्रविधि संस्थान (आईआईटी) जम्मु र भारतीय व्यवस्थापन संस्थान (आईआईएम) जम्मुका उपग्रह परिसर स्थापना गर्ने प्रस्तावलाई पनि अघि बढ़ाइँदैछ। यसबाट युवाहरूले आफ्नै क्षेत्रमा उच्च शिक्षा, अनुसन्धान, प्रविधि तथा नयाँ सीप सिक्ने अवसर प्राप्त गर्न सक्नेछन्।
लद्दाखमा खेलकुदको सम्भावनाबारे उल्लेख गर्दै मोदीले यहाँका युवाहरूले आइस हक्की, शीतकालीन खेलकुद तथा पर्वतारोहणमा विशिष्ट पहिचान बनाएको बताए। नयाँ खेल नीति मार्फत खेल प्रतिभालाई अघि बढ़ाउन तथा खेलाड़ीलाई राम्रो प्रशिक्षण र सुविधा उपलब्ध गराउने प्रयास भइरहेको उनले बताए। यसबाट उनीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा उपलब्धि हासिल गर्न सक्नेछन्।
प्रधानमन्त्रीले प्राकृतिक परिस्थितिका कारण लद्दाखमा जीवनयापनका आफ्नै चुनौतीहरू रहेको बताए। यसअघि सरकारहरूले यहाँको विकासलाई पर्याप्त प्राथमिकता नदिएको उनको भनाइ थियो। अहिले केन्द्र सरकारका लागि लद्दाखको विकास महत्त्वपूर्ण प्राथमिकता रहेको उल्लेख गर्दै उनले यी परियोजनाले क्षेत्रको पूर्वाधार विकास तथा स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
हिन्दुस्थान समाचार / भवानी थामी