जेएनयू प्रकरणमा कांग्रेस सांसद विरुद्ध भाजपा प्रतिनिधिमण्डलद्वारा लोकसभा अध्यक्षलाई ज्ञापन
भाजपा प्रतिनिधिमंडल मकर द्वार पर


नयाँ दिल्ली, १५ अक्टोबर (हि.स.)। जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा कथित यौन दुर्व्यवहारको घटनामा आरोपी कांग्रेस सांसद बिमोल अकोइजम विरुद्ध कारबाहीको माग गर्दै भारतीय जनता पार्टी (भाजपा) का महिला सांसदहरूको प्रतिनिधिमण्डलले बिहिवार लोकसभा अध्यक्ष ओम बिरलासँग भेट गरेको छ। प्रतिनिधिमण्डलले यस विषयमा ज्ञापनपत्र बुझाउँदै आवश्यक कारबाहीको माग गरेको छ।

भाजपा सांसद बाँसुरी स्वराज अनुसार, लोकसभा अध्यक्षसँग भएको छलफल सार्थक रहेको थियो। प्रतिनिधिमण्डलले महिला सुरक्षा, उजुरीको गम्भीरता तथा यस प्रकरणमा सम्बन्धित संस्थाबाट उचित कारबाही हुनुपर्ने आवश्यकताबारे आफ्नो पक्ष राख्यो।

भाजपा महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष तथा सांसद रूपकुमारी चौधरीको नेतृत्वमा महिला सांसदहरूले लोकसभा अध्यक्ष ओम बिरलासँग भेट गरे। उनीहरूले प्रकरणलाई अध्यक्ष समक्ष उठाउँदै आवश्यक कदम चाल्न माग गरे।

भाजपाले महिला सुरक्षाको विषयमा कांग्रेस नेतृत्वको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै आएको छ। लोकसभा अध्यक्षसँग भेट गरेपछि प्रतिनिधिमण्डलमा सहभागी महिला सांसदहरूले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरे।

बाँसुरी स्वराजले महिलाको अधिकारको कुरा गर्ने कांग्रेसले यस्ता घटनामा पनि स्पष्ट धारणा राख्नुपर्ने र आफ्ना नेताहरूमाथि लागेका आरोपप्रति जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आरोप लगाइन्।

उनले कांग्रेस पार्टी महिलामाथि शोषण गर्नेहरूको पक्षमा उभिँदै आएको आरोप लगाउँदै राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खड्गे र सोनिया गान्धीको मौनतामाथि प्रश्न उठाइन्। स्वराज अनुसार, बिमोल अकोइजममाथि ११ छात्राको यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। उनको दाबीअनुसार जेएनयूको आन्तरिक समितिले छात्राहरूले दिएका उजुरीलाई सही ठहर गर्दै उपलब्ध तथ्यका आधारमा आरोपको पुष्टि गऱ्यो। त्यसपछि ९ अक्टोबर २०२६ मा अकोइजमलाई जेएनयूमा रहेको उनको पदबाट निष्कासित गरिएको उनले बताइन्।

भाजपा सांसदले यस प्रकरणमा कांग्रेसको शीर्ष नेतृत्व मौन रहनु दुर्भाग्यपूर्ण भएको बताइन्। महिला अधिकार र सुरक्षाको विषय उठाउँदै आएका राहुल गान्धी, प्रियंका गान्धी, सोनिया गान्धी र मल्लिकार्जुन खड्गेले यसबारे प्रतिक्रिया किन नदिएको भन्दै उनले प्रश्न गरिन्।

उल्लेखनीय छ, भाजपा महिला सांसदहरूको प्रतिनिधिमण्डलले यसअघि राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि यस विषयमा हस्तक्षेप गर्न अपील गरेको थियो। त्यसैगरी, एक दिनअघि प्रतिनिधिमण्डलले राष्ट्रिय महिला आयोगकी अध्यक्ष विजया रहाटकरसँग भेट गरी प्रकरणबारे छलफल गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande