
मुम्बई, १५ अक्टोबर (हि.स.)। महाराष्ट्रको पुणे जिल्लामा भिसाको अवधि समाप्त भइसकेपछि पनि भारतमा बस्दै आएका युगान्डाका तीन महिलालाई पुलिसले पक्राउ गरेको छ। पिम्परी–चिञ्चवड पुलिसको विशेष शाखा अन्तर्गत विदेशी पंजीकरण कार्यालयले उनीहरूलाई भारतबाट युगान्डा फिर्ता पठाउने प्रक्रिया शुरु गरेको छ। यस विषयमा पिम्परी–चिञ्चवड पुलिसले अनुसन्धान गरिरहेको छ।
घटनाको अनुसन्धान गरिरहेका एक पुलिस अधिकारीले बिहिवार दिएको जानकारी अनुसार, भिसाको अवधि समाप्त भएपछि पनि केही विदेशी नागरिक हिंजवडीको मारुन्जी क्षेत्रमा बसिरहेको सूचना पुलिस टोलीले प्राप्त गरेको थियो। उक्त सूचनाका आधारमा छापा मारेर युगान्डाका तीन महिलालाई पक्राउ गरिएको हो। पक्रा पर्नेहरूमा डोरेक अहैस्बिवे, प्रोसी अंकुन्डा र अमीना कटुसिमे रहेका छन्। अनुसन्धानका क्रममा तीनै महिलाले पासपोर्ट र भिसाका सक्कली कागजातको सट्टा फोटोकपी प्रस्तुत गरेका थिए।
त्यसपछि पुलिसले इमिग्रेशन, भिसा, फरेनर्स रजिस्ट्रेशन एण्ड ट्रैकिङ प्रणाली मार्फत उनीहरूका कागजात जाँच गरेको थियो। जाँचका क्रममा तीनै जना युगान्डाका नागरिक रहेको र उनीहरूको भिसाको वैधता समाप्त भइसकेको पुष्टि भएको पुलिसले जनाएको छ।
पुलिस अनुसार, डोरेक अहैस्बिवे विद्यार्थी भिसामा भारतमा बस्दै आएकी थिइन्। उनको भिसाको वैधता ७ अक्टोबर २०२६ सम्म थियो। त्यसैगरी, प्रोसी अंकुन्डाको चिकित्सा भिसा २९ दिसम्बर २०२५ मा र अमीना कटुसिमेको चिकित्सा भिसा ११ नोभेम्बर २०२५ मा समाप्त भएको थियो। तर तीनै महिलाले भिसाको अवधि थप गराएका थिएनन्।
हाल पिम्परी–चिञ्चवड़ स्थित विदेशी दर्ता कार्यालय मार्फत तीनै महिलालाई भारतबाट युगान्डा फिर्ता पठाउने प्रक्रिया अघि बढ़ाइएको छ। घटना सम्बन्धी थप अनुसन्धान तथा कानूनी कारबाही जारी रहेको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी