
कछार (असम), १५ अक्टोबर (हि.स.)। असमको कछार जिल्ला पुलिसले गोप्य सूचनाका आधारमा अभियान सञ्चालन गरी ठूलो परिमाणमा लागुऔषध जफत गर्नुका साथै दुई जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूसँग पुलिसले गहन सोधपुछ गरिरहेको छ।
कछार जिल्ला पुलिस मुख्यालयले बिहिवार दिएको जानकारी अनुसार, उधारबन्द थाना क्षेत्र अन्तर्गत उधारबन्द बाइपास नजिकै रहेको ‘फाइभ माइल’ क्षेत्रमा बुधवार राति लागुऔषध विरुद्ध अभियान सञ्चालन गरिएको थियो। यस क्रममा एउटा ट्रक रोकेर तलासी लिँदा त्यसको गोप्य खण्डबाट २ लाख ३० हजार याबा ट्याब्लटे्स जफत गरिएको हो। जफत ट्याब्लेट्सको कूल तौल २४.५८९ किलोग्राम रहेको छ। पुलिस अनुसार, जफत गरिएको याबा ट्याब्लेट्सको अनुमानित बजार मूल्य ५७.५ करोड़ रुपियाँ रहेको छ।
यस घटनामा पक्रा पर्नेहरूमा उत्तर प्रदेशको फिरोजाबाद जिल्ला अन्तर्गत जसराना निवासी २८ वर्षीय सचिन तोमर र मध्य प्रदेशको ग्वालियर जिल्ला अन्तर्गत मोतीझील थाना क्षेत्रको बोरापुर निवासी २१ वर्षीय रोहित यादव रहेका छन्।
प्रारम्भिक जानकारी अनुसार, जफत गरिएको ट्रक छिमेकी राज्यबाट आइरहेको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरू तथा उनीहरूबीचको सम्पर्कबारे जानकारी जुटाउन पुलिसले कानूनी प्रक्रिया अघि बढ़ाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी