
नयाँ दिल्ली, १४ अक्टोबर (हि.स.)। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी र कांग्रेस महासचिव तथा सांसद प्रियङ्का गान्धी वाड्राले बुधवार इन्डिया गेटमा प्रदर्शन गरिरहेका अङ्किता भण्डारीका परिवारका सदस्यहरूसँग भेट गरेका छन्। दुवै नेताले परिवारको न्यायको मागप्रति समर्थन जनाएका छन्।
उत्तराखण्डकी १९ वर्षीया अङ्किता भण्डारीको साल २०२२ को सेप्टेम्बरमा ऋषिकेश नजिकैको एउटा रिसोर्टमा हत्या गरिएको थियो। यस मामिलामा रिसोर्टका मालिक पुलकित आर्य र उनका दुई जना कर्मचारीलाई दोषी ठहर गरिएको थियो। यद्यपि, परिवारले यस मामिलामा कथित ‘विशिष्ट व्यक्ति’ (भीआईपी) को भूमिकाबारे पनि निष्पक्ष अनुसन्धान गर्न माग गरिरहेको छ।
भारतीय जनता पार्टी (भाजपा) का नेता दुष्यन्त कुमार गौतमलाई सिक्किमको राज्यपाल नियुक्त गरिएको विषयमा पनि परिवारले विरोध जनाएको छ। कथित भीआईपी पक्षको अनुसन्धान पूरा नभएसम्म उनको नियुक्ति रोक्न परिवारका सदस्यहरूले माग गरेका छन्।
कांग्रेसले यस विषयमा केन्द्र सरकार र भाजपामाथि प्रश्न उठाउँदै परिवारलाई न्याय दिलाउन माग गरेको छ। यता, परिवारको मुख्य माग कथित भीआईपी पक्षको निष्पक्ष अनुसन्धान गर्नु र यस मामिलासँग सम्बन्धित सबै प्रश्नको जवाफ सार्वजनिक गर्नु रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी