
नाम्ची, 15 अक्टूबर (हि.स.)। दक्षिण सिक्किमको सुन्तलेस्थित एकलव्य मोडेल आवासीय विद्यालयमा बुधबार आयोजित राज्यस्तरीय खेलकुद प्रतियोगितामा समाज कल्याण विभागका मन्त्री सामडुप लेप्चा मुख्य अतिथिका रूपमा सहभागी भएका छन्।
उक्त कार्यक्रममा समाज कल्याण विभागकी सचिव सारिका प्रधान, विशेष सचिव वन्दना छेत्री, नाम्चीकी जिल्लापाल अनुपा तामालिङ साथै विभिन्न विद्यालयका प्रधान अध्यापक, शिक्षकगण र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो खेल प्रतिभा, कौशल, सामूहिक कार्य र खेल भावना प्रदर्शन गर्ने मञ्च प्रदान गर्यो। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सक्रिय रहन, आत्मविश्वास बढ़ाउन र खेलकुदका माध्यमबाट अनुशासन विकास गर्न प्रोत्साहित गर्छन्।
सो अवसरमा मन्त्री सामडुप लेप्चाले खेलकुद प्रतियोगिता आयोजना गर्न हेतु गरिएको प्रयासको प्रशंसा गरे र विद्यार्थीहरूलाई पूर्ण लगनशीलता, आत्मविश्वास तथा सकारात्मक भावनाका साथ खेलकुदमा सहभागी हुन प्रोत्साहित गरे।
त्यसपछि मन्त्रीले विद्यालयमा निर्माणाधीन अडिटोरियम र शिक्षक आवास गृहको निरीक्षण गरे। उनले निर्माण कार्यको प्रगतिको समीक्षा गर्नुका साथै विद्यार्थीहरूका लागि अझ राम्रा सुविधा र सहज शिक्षण वातावरण उपलब्ध गराउनुपर्ने विषयमा जोड़ दिए। यो कार्यक्रम सिक्किम सरकारको समाज कल्याण विभागअन्तर्गत ईएमआरएस सोसाइटीद्वारा आयोजना गरिएको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल