
नाम्ची, 16 अक्टूबर (हि.स.)। विशेष स्वास्थ्य सेवाको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै जिल्ला अस्पताल नाम्चीको अर्थोपेडिक (हाडजोर्नी तथा नसा रोग) विभागले जन्मजात खुट्टा बाङ्गो हुने समस्या-सीटीईभी (जसलाई सामान्य भाषामा क्लबफुट’ भनिन्छ)-बाट पीड़ित 15 वर्षीय किशोरीको सफल उपचार गरेको छ। यस उपचारले ती किशोरीलाई उज्ज्वल भविष्यका लागि नयाँ आशा प्रदान गरेको छ।
याङ्गाङ निर्वाचन क्षेत्रअन्तर्गत पर्ने लोअर श्रीपदमको ती किशोरीलाई सम्बन्धित पञ्चायत सदस्यको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल नाम्ची ल्याइएको थियो। यो पहल राङ्गाङ-याङ्गाङ निर्वाचन क्षेत्रकी उपाध्यक्ष तथा क्षेत्र विधायक राजकुमारी थापाको रेखदेख र मार्गदर्शनमा अघि बढ़ाइएको थियो, जसले खाँचोमा परेका मानिसहरूका लागि अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने निरन्तर प्रतिबद्धता झल्काउँछ।
समस्याको जटिलतालाई ध्यानमा राख्दै अर्थोपेडिक विभागले लामो समयदेखि रहँदै आएको यस शारीरिक विकृतिलाई सुधार्न एक योजनाबद्ध र बहुविषयक शल्यक्रिया विधि अपनायो। उपचार प्रक्रियामा शृङ्खलाबद्ध ‘पोन्सेटी कास्टिङ’, ‘टेन्डो-एकिल्स जेड-प्लास्टी’, ट्रिपल आर्थ्रोडेसिस’ (जसमा टालोक्याल्केनियल, क्याल्केनियोक्युबोइड र टालोनाभिकुलर जोर्नीहरू समावेश थिए) तथा ‘स्टिन्ड्लर प्रोसिजर’ जस्ता विधिहरू अपनाइएका थिए।
यो चुनौतीपूर्ण मामिलाको सफल व्यवस्थापन जिल्ला अस्पताल नाम्चीको अर्थोपेडिक टोलीका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा प्रमाणित भएको छ साथै यसले समुदायकै नजिक विशेष चिकित्सा सेवा उपलब्ध गराउने अस्पतालको प्रतिबद्धतालाई पनि उजागर गरेको छ।
यस मामिलाबारे छलफलका क्रममा डा. कञ्चन गुरुङ र डा. डी. देवकोटाले शारीरिक विकृतिहरू (जुन उपचारद्वारा सुधार्न सकिन्छ) भएका व्यक्ति र परिवारहरूसम्म पुग्न सामाजिक सञ्जालमार्फत जनचेतना जगाउनुको महत्त्वमा जोड़ दिए। उनीहरूले मानिसहरूलाई निराश नहुन वा चिकित्सकको सल्लाह लिन हिचकिचाउन नहुने आग्रह गरे। समयमै परामर्श र उचित उपचारले जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने कुरामा उनीहरूले जोड़ दिए।
यो घटनाले के सम्झाउँछ भने चिकित्सा परामर्श र विशेष उपचारको पहुँचले मानिसहरूको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ। यसले स्वास्थ्य सेवा प्राप्त गर्न आइपर्ने अवरोधहरू हटाउन र आवश्यक उपचार पाउनका लागि समुदायको सहयोग कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई पनि प्रस्ट पार्छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल