रक्तअल्पता जाँच शिविर सम्पन्न, कुपोषणमुक्त सिक्किम बनाउने उद्देश्य
रक्तअल्पता जाँच शिविर सम्पन्न


नाम्ची, 16 अक्टोबर (हि.स.)। महिला, बाल, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग अन्तर्गतको पोषण एकाइले शुक्रवार नाम्चीस्थित पीएम श्री सरकारी उच्च माध्यमिक विद्यालयमा ‘टक, टेस्ट एण्ड ट्रिट’ अभियान अन्तर्गत रक्तअल्पता जाँच शिविर आयोजन गरेको छ। यो अभियान कुपोषणमुक्त सिक्किम बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको हो।

कार्यक्रममा पीएम श्री सरकारी उच्च माध्यमिक विद्यालय, नाम्चीकी प्रााचार्या वन्दना राई, सीडीपीओ नाम्ची लक्ष्मण तामाङ, डीएनओ तथा पोषण सहायक निर्देशक सोफिया लेप्चा, एएनएम प्रियङ्का लामा, जिल्ला अस्पताल नाम्चीका प्रयोगशाला प्राविधिक आशिष छेत्री, पोषण निरीक्षक सम्झना तामाङ, विद्यालयका शिक्षक-शिक्षिका तथा कर्मचारी र पोषण एकाइका अधिकारीहरूको उपस्थिति थियो।

यस पहलको स्वागत गर्दै प्रधानाध्यापक वन्दना राईले शिविर आयोजन गरेकोमा विभागप्रति आभार व्यक्त गरिन्। उनले विद्यार्थीहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्नमा यस्ता कार्यक्रमहरूको महत्त्वमाथि प्रकाश पारिन्।

जाँच शुरु हुनुअघि, विद्यार्थीहरूलाई रक्तअल्पता, यसका कारण, रोकथामका उपाय र शरीरमा पर्याप्त पोषणको स्तर कायम राख्नुको महत्त्वबारे जानकारी दिन एक सचेतना सत्र सञ्चालन गरिएको थियो। विद्यार्थीहरूलाई सन्तुलित आहार-विशेष गरी हरियो सागपात र आइरनयुक्त अन्य खाद्यपदार्थ समावेश गर्दा रक्तअल्पता रोक्न र दीर्घकालीन स्वास्थ्यमा कसरी मद्दत पुग्छ भन्नेबारे सचेत गराइएको थियो।

यस रक्तअल्पता जाँच शिविरमा कक्षा 8 देखि 11 सम्मका कुल 150 जना विद्यार्थीहरू सहभागी भए। तीमध्ये 10 जना विद्यार्थीमा रक्तअल्पताको सम्भावना देखिएपछि विभागले उनीहरूलाई भिटामिन सी गोली, आयुर्वेदिक आइरन र फोलिक एसिडका गोली, चुकन्दरको धुलो तथा बहु-अन्नबाट बनेको सत्तु उपलब्ध गरायो। साथै, उनीहरूलाई यी पोषण पूरकहरू कति मात्रामा र कहिले सेवन गर्ने भन्नेबारे पनि आवश्यक निर्देशन दिइयो।

यस अभियानको मुख्य उद्देश्य विद्यालयका विद्यार्थीहरूमा रक्तअल्पता रोकथामसम्बन्धी सचेतना अभिवृद्धि गर्नु, समयमै जाँच गराउन प्रोत्साहित गर्नु र स्वस्थ खानपानको बानी बसाल्नु थियो। जिल्लाका बालकबालिकाहरूको पोषणसम्बन्धी चेतना बढ़ाउन र उनीहरूको स्वास्थ्य तथा कल्याणमा सहयोग पुर्‍याउन विभाग प्रतिबद्ध रहेको कुरा पुष्टि गर्दै यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande