
खरसाङ, १६ अक्टोबर (हि.स.)। दार्जिलिङ पहाड र सिक्किममा निर्माण गरिएका स्थानीय कथावस्तुमा आधारित चलचित्रहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले आगामी अक्टोबर ३० देखि नोभेम्बर १ सम्म खरसाङको तीन माइलमा तीन दिवसीय ‘दार्जिलिङ फिल्म फेस्टिभल २०२६’ आयोजना गरिने भएको छ।
यस सम्बन्धमा आज प्रेस क्लब अफ खरसाङमा लिभिङ द कल्चर फाउन्डेसनको तर्फबाट पत्रकार सम्मेलन आयोजना गरी विस्तृत जानकारी गराइएको छ। पत्रकार सम्मेलनमा संस्थाका तर्फबाट मिक्मा लेप्चा, श्रद्धा छेत्री र कल्याणी राईले पत्रकारहरूलाई सम्बोधन गर्दै महोत्सवको उद्देश्य तथा कार्यक्रमबारे जानकारी दिए।
तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा दार्जिलिङ पहाड र सिक्किममा निर्माण गरिएका चलचित्रहरू प्रदर्शन गरिनेछ। यसका साथै चलचित्रसम्बन्धी प्यानल छलफल, अन्तरमहाविद्यालय प्रतियोगिता तथा अन्य विविध कार्यक्रमहरू पनि आयोजना गरिने आयोजकहरूले बताएका छन्।
महोत्सवमा विशेषगरी स्थानीय परिवेश, संस्कृति र पहाडी क्षेत्रका कथावस्तुलाई समेटेर निर्माण गरिएका चलचित्रहरूलाई प्राथमिकता दिइनेछ। आफ्नै क्षेत्रका कथा र अनुभवलाई चलचित्रका माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ।
महोत्सवमा सौरभ राई, प्रशान्त रसाइलीको ‘आचार्य’, आनन्ददीप रसाइलीको ‘सेतो घारी’, फुर्बा लामाको ‘जार’ तथा ‘एक ढाकर जीवन’ लगायतका चलचित्र प्रदर्शन गरिने जानकारी दिइएको छ।
यस अवसरमा वरिष्ठ कलाकार मेनुका प्रधानसहित चलचित्र क्षेत्रका विभिन्न कलाकार तथा व्यक्तित्वहरूको विशेष उपस्थिति रहने अपेक्षा गरिएको छ।
आयोजक समितिले खरसाङमा आयोजना हुने तीन दिवसीय चलचित्र महोत्सवमा सहभागी भई स्थानीय चलचित्रकर्मी तथा उनीहरूका सिर्जनालाई प्रोत्साहन गर्न सबैलाई आह्वान गरेको छ।
हिन्दुस्थान समाचार / हनोक