ग्वालियर दुर्घटनाप्रति मुख्यमन्त्री मोहन यादवद्वारा दुःख व्यक्त, मृतकका परिवारलाई ४-४ लाख रुपैयाँ सहायता
मुख्यमंत्री डॉ मोहन यादव ने ग्वालियर शीतला माता मंदिर हादसे पर जताया दुख, की जरूरी घोषणा


ग्वालियर, १८ अक्टोबर (हि.स.)। मध्य प्रदेशको ग्वालियरमा शीतला माता मन्दिरनजिकै श्रद्धालुहरूलाई कुल्चँदै अघि बढेको अनियन्त्रित ट्रकले १४ जनाको ज्यान लिएको छ। सप्तमीका अवसरमा देवीको दर्शन गर्न पुगेका श्रद्धालुहरूबीच मध्यरातपछि भएको यस दुर्घटनाले पूरै प्रदेशमा शोकको लहर फैलिएको छ। मुख्यमन्त्री डा. मोहन यादवले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार-चार लाख रुपियाँ, गम्भीर घाइतेलाई दुई-दुई लाख रुपियाँ र अन्य घाइतेलाई ५०-५० हजार रुपियाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्।

यसका साथै उनले सबै घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न निर्देशन दिएका छन्। प्रभावित परिवारहरू ग्वालियर, शिवपुरी र श्योपुरका बासिन्दा हुन्। मुख्यमन्त्रीले मन्त्री ऐदल सिंह कंसाना र राकेश शुक्लालाई ग्वालियर पुग्न निर्देशन दिएका छन्। दुर्घटनामा बालबालिका, किशोरकिशोरी, महिला तथा वृद्धवृद्धाको मृत्यु भएपछि धार्मिक आयोजनाहरूमा श्रद्धालुहरूको सुरक्षा र यातायात व्यवस्थापनसम्बन्धी व्यवस्थामाथि गम्भीर प्रश्न उठेका छन्।

मुख्यमन्त्रीले भने- दुःखको यस घडीमा सरकार प्रभावित परिवारसॅंगै छ

मुख्यमन्त्री डा. मोहन यादवले सामाजिक सञ्जाल एक्समा दुर्घटनालाई अत्यन्त हृदयविदारक बताउँदै शोकसन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गरेका छन्। उनले लेखेका छन्, “ग्वालियरमा भएको ट्रक दुर्घटनामा श्रद्धालुहरूको मृत्यु भएको समाचार अत्यन्त हृदयविदारक छ। दुःखको यस घडीमा राज्य सरकार सबै प्रभावित परिवारसँगै छ। सबै मृतकका परिवारप्रति मेरो समवेदना छ।”

मुख्यमन्त्रीले राज्य सरकारका तर्फबाट आर्थिक सहायताको घोषणा गर्दै घाइतेहरूको उचित उपचार गर्न निर्देशन दिएका छन्। सरकारका अनुसार, मृतकका प्रत्येक परिवारलाई चार लाख रुपियाँ, गम्भीर घाइतेलाई दुई लाख रुपियाँ र अन्य घाइतेलाई ५० हजार रुपियाँ सहायता दिइनेछ। सबै घाइतेको उपचार निःशुल्क गराइनेछ। प्रभावित परिवारलाई राहत पुर्याउन दुई मन्त्रीलाई घटनास्थल पुग्न निर्देशनसमेत दिइएको छ।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा बाबा महाकालसँग दिवंगतहरूलाई श्रीचरणमा स्थान दिन, शोकाकुल परिवारलाई यस गहिरो दुःख सहन गर्ने शक्ति प्रदान गर्न र घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभ प्रदान गर्न प्रार्थना गरेका छन्। उनले आफ्नो सन्देशको अन्त्य ‘ॐ शान्ति’ भन्दै गरेका छन्।

मध्यरातपछि मृत्यु बनेर आइपुग्यो ट्रक

यो दुर्घटना शनिबार र आइतबारको मध्यरात करिब डेढ बजी चीनौर सडकको ओरालोनजिकै भएको थियो। सप्तमीका अवसरमा शीतला माता मन्दिरमा दर्शन गर्न ठूलो सङ्ख्यामा श्रद्धालुहरू पुगेका थिए। मन्दिर वरपर प्रसाद र पूजासामग्रीका पसलहरू राखिएका थिए। यसै क्रममा चीनौरतर्फबाट आइरहेको भारी सामानले भरिएको ट्रक ओरालोमा अनियन्त्रित भयो।

प्रत्यक्षदर्शीहरूका अनुसार, ट्रक बाटोमा राखिएका पुलिसका अवरोधकहरू तोड्दै अघि बढ्यो। त्यसले सडकछेउमा रहेका पसल र श्रद्धालुहरूलाई आफ्नो चपेटामा लियो। अन्त्यमा ट्रक मन्दिरको मुख्य प्रवेशद्वारको पर्खालमा ठोक्कियो। ठक्कर यति भीषण थियो कि पर्खाल भत्कियो र धेरै मानिस ट्रक तथा भग्नावशेषमुनि पुरिए। घटनास्थलमा चिच्याहट र कोलाहल मच्चियो। स्थानीय बासिन्दाले पुलिस तथा प्रशासनसँग मिलेर उद्धारकार्य शुरु गरे र घाइतेहरूलाई अस्पताल पुर्याए।

जिल्ला प्रशासनले दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनापछि अस्पतालहरूमा परिवारका सदस्यहरू आफ्ना आफन्तको खोजीमा भौँतारिइरहेका थिए। दर्शन गर्न पुगेका परिवारहरूका लागि धार्मिक पर्व अपूरणीय क्षति र गहिरो शोकमा परिणत भयो। मृतकहरूमा किशोरकिशोरीसमेत रहेकाले दुर्घटनाको गम्भीरता अझ बढेको छ। दर्शन गर्न पुगेका परिवारका धेरै सदस्य दुर्घटनाको चपेटामा परे। घाइतेहरूको उपलब्ध सूचीमा पनि धेरै बालबालिका, युवा र वृद्धवृद्धाका नाम समावेश छन्।

सुरक्षा व्यवस्था हुँदाहुँदै ट्रक कसरी पुग्यो?

दुर्घटनापछि मन्दिर जाने सडकमा यातायात नियन्त्रण र सुरक्षा व्यवस्थालाई लिएर सबैभन्दा ठूलो प्रश्न उठेको छ। पुलिस अधीक्षक धर्मवीर सिंह यादवका अनुसार श्रद्धालुहरूको भीडलाई ध्यानमा राख्दै मन्दिरतर्फ जाने सडकमा भारी सवारीसाधनको आवागमन रोक्ने व्यवस्था गरिएको थियो। त्यसका बाबजुद ट्रकले अवरोधकहरू तोडेर श्रद्धालुहरूबीच प्रवेश गर्यो।

दुर्घटनामा ड्युटीमा खटिएका दुई पुलिसकर्मी र एक होमगार्ड जवान पनि घाइते भएका छन्। जिल्ला अधिकारी रुचिका चौहानका अनुसार ट्रक ओरालोबाट अनियन्त्रित भएर मन्दिरतर्फ आएको थियो र घटनास्थलमा अवरोधकहरू भाँचिएको अवस्थामा भेटिएका थिए। दुर्घटनाको कारण तथा सुरक्षा व्यवस्थामा सम्भावित कमजोरीबारे अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande