
ग्वालियर, १८ अक्टोबर (हि.स.)। केन्द्रिय मन्त्री ज्योतिरादित्य सिन्धियाले ग्वालियरको शीतला माता मन्दिरनजिकै गए राति अनियन्त्रित ट्रकले किचेर १४ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस भीषण दुर्घटनालाई पीडादायी र हृदयविदारक बताउँदै शोकसन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गरेका छन्।
माता शीतलाको दर्शन गर्न पुगेका श्रद्धालुहरूलाई कुल्चँदै अघि बढेको अनियन्त्रित ट्रकले १४ जनाको ज्यान लिएको थियो। राज्य सरकारले मृतकका प्रत्येक परिवारलाई चार लाख रुपियाँ, गम्भीर घाइतेलाई दुई लाख रुपियाँ र अन्य घाइतेलाई ५० हजार रुपियाँ सहायता दिने घोषणा गरेको छ। यस दुर्घटनामा श्रद्धालुहरूको असामयिक मृत्यु भएपछि केन्द्रीय मन्त्री सिन्धिया गहिरो मर्माहत भएका छन्।
सिन्धियाले सामाजिक सञ्जालमार्फत दुर्घटनालाई अत्यन्त पीडादायी र हृदयविदारक बताउँदै माता जगदम्बासँग दिवंगत आत्माहरूलाई आफ्ना श्रीचरणमा स्थान दिन, शोकसन्तप्त परिवारलाई यो असहनीय दुःख सहन गर्ने शक्ति प्रदान गर्न र सबै घाइतेलाई शीघ्र स्वास्थ्यलाभ प्रदान गर्न प्रार्थना गरेका छन्।
सिन्धियाले दुःखको यस घडीमा आफ्नो गहिरो समवेदना शोकाकुल परिवारहरूसँग रहेको बताएका छन्। उनी मध्य प्रदेश सरकार र जिल्लाका प्रभारी मन्त्रीसँग निरन्तर सम्पर्कमा रहेको पनि उनले उल्लेख गरेका छन्। दुर्घटनापछि राज्य सरकारले मृतकका परिवार तथा घाइतेहरूलाई आर्थिक सहायता उपलब्ध गराउनुका साथै सबै घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न निर्देशन दिएको उनले बताएका छन्।
मुख्यमन्त्री डा. मोहन यादवले मृतकका प्रत्येक परिवारलाई चार लाख रुपियाँ, गम्भीर घाइतेलाई दुई लाख रुपियाँ र अन्य घाइतेलाई ५० हजार रुपियाँ सहायता दिने घोषणा गरेका छन्।
मुख्यमन्त्रीद्वारा आर्थिक सहायताको घोषणा
ग्वालियर दुर्घटनाप्रति मुख्यमन्त्री डा. मोहन यादवले पनि गहिरो दुःख व्यक्त गरेका छन्। उनले दुःखको यस घडीमा राज्य सरकार सबै प्रभावित परिवारसँगै रहेको बताएका छन्। मुख्यमन्त्रीले राज्य सरकारका तर्फबाट मृतकका परिवारलाई चार-चार लाख रुपियाँ, गम्भीर घाइतेलाई दुई-दुई लाख रुपियाँ र अन्य घाइतेलाई ५०-५० हजार रुपियाँ आर्थिक सहायता उपलब्ध गराउन निर्देशन दिएका छन्। सबै घाइतेको उपचार निःशुल्क गराइनेछ।
मुख्यमन्त्रीले मन्त्री ऐदल सिंह कसाना र राकेश शुक्लालाई ग्वालियर पुग्न निर्देशनसमेत दिएका छन्, ताकि प्रभावित परिवारको अवस्थाबारे जानकारी लिएर आवश्यक सहायता सुनिश्चित गर्न सकियोस्। प्रभावित परिवारहरू ग्वालियर, शिवपुरी र श्योपुरका रहेको बताइएको छ। मुख्यमन्त्रीले आफ्नो सन्देशमा बाबा महाकालसँग दिवंगतहरूलाई श्रीचरणमा स्थान दिन, परिवारका सदस्यहरूलाई दुःख सहन गर्ने शक्ति प्रदान गर्न र घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभ प्रदान गर्न प्रार्थना गरेका छन्।
मध्यरातपछि मन्दिरको प्रवेशद्वारमा मच्चियो कोलाहल
दुर्घटना शनिबार र आइतबारको मध्यरात करिब १ः३० बजी चीनौर सडकको ओरालोनजिकै भएको थियो। सप्तमीका अवसरमा शीतला माता मन्दिरमा दर्शन गर्न ठूलो सङ्ख्यामा श्रद्धालुहरू पुगेका थिए। मन्दिर वरपर प्रसाद र पूजासामग्रीका पसलहरू राखिएका थिए। यसै क्रममा चीनौरतर्फबाट आइरहेको भारी सामानले भरिएको ट्रक ओरालोमा अनियन्त्रित भयो।
ट्रक बाटोमा राखिएका पुलिसका अवरोधकहरू तोड्दै अघि बढ्यो र पसल तथा श्रद्धालुहरूलाई आफ्नो चपेटामा लियो। अन्त्यमा ट्रक मन्दिरको मुख्य प्रवेशद्वारको पर्खालमा ठोक्कियो। ठक्कर यति भीषण थियो कि पर्खाल भत्कियो र धेरै मानिस ट्रक तथा भग्नावशेषमुनि पुरिए। घटनास्थलमा चिच्याहट र कोलाहल मच्चियो। स्थानीय बासिन्दाले प्रहरी तथा प्रशासनसँग मिलेर उद्धारकार्य शुरु गरे र घाइतेहरूलाई अस्पताल पुर्याए।
जिल्ला प्रशासनले दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृतकहरूमा बालबालिका, किशोरकिशोरी, महिला र वृद्धवृद्धा रहेका छन्। अस्पतालहरूमा परिवारका सदस्यहरू आफ्ना आफन्तको खोजीमा भौँतारिइरहेका थिए। धेरै परिवारका लागि धार्मिक पर्व गहिरो दुःखमा परिणत भएको छ।
सुरक्षा व्यवस्था हुँदाहुँदै ट्रक कसरी पुग्यो?
दुर्घटनापछि मन्दिर जाने सडकमा यातायात नियन्त्रण र श्रद्धालुहरूको सुरक्षा व्यवस्थालाई लिएर गम्भीर प्रश्न उठेका छन्। प्रहरी अधीक्षक धर्मवीर सिंह यादवका अनुसार, श्रद्धालुहरूको भीडलाई ध्यानमा राख्दै मन्दिरतर्फ जाने सडकमा भारी सवारीसाधनको आवागमन रोक्ने व्यवस्था गरिएको थियो। त्यसका बाबजुद ट्रकले अवरोधकहरू तोडेर मन्दिरको प्रवेशद्वारसम्म पुग्यो।
दुर्घटनामा ड्युटीमा खटिएका दुई पुलिसकर्मी र एक होमगार्ड जवान पनि घाइते भएका छन्। जिल्ला अधिकारी रुचिका चौहानका अनुसार, ट्रक ओरालोबाट अनियन्त्रित भएर मन्दिरतर्फ आएको थियो र घटनास्थलमा अवरोधकहरू भाँचिएको अवस्थामा भेटिएका थिए। दुर्घटनाको कारण तथा सुरक्षा व्यवस्थामा सम्भावित कमजोरीबारे अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी