सिक्किमकी लोकनृत्य कलाकार दिलु तामाङलाई प्रतिष्ठित उस्ताद बिस्मिल्लाह खाँ युवा पुरस्कार
सिक्किमकी लोकनृत्य कलाकार दिलु तामाङलाई प्रतिष्ठित उस्ताद बिस्मिल्लाह खाँ युवा पुरस्कार


गान्तोक, 19 अक्टोबर (हि.स.)। सिक्किमकी लोकनृत्य कलाकार, नृत्य संयोजक तथा संस्कृतिसाधक दिलु तामाङलाई लोकनृत्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै भारत सरकारको संस्कृति मन्त्रालयअन्तर्गत सङ्गीत नाटक अकादमीले २०२४ को प्रतिष्ठित उस्ताद बिस्मिल्लाह खाँ युवा पुरस्कार प्रदान गरेको छ। यो पुरस्कार १९ अक्टोबर, २०२६ मा नयाँ दिल्लीस्थित ललित कला अकादमीमा प्रदान गरिएको हो। केन्द्रिय संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले उनलाई उक्त पुरस्कार प्रदान गरे।

यस राष्ट्रिय सम्मानले प्रदर्शनकारी कलाका क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने युवा कलाकारहरूलाई सम्मान गर्नुका साथै भारतका विविध सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा उनीहरूले पुर्‍याएको योगदानलाई मान्यता दिन्छ। तामाङको यस उपलब्धिले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउनुका साथै देशको प्रदर्शनकारी कला क्षेत्रमा राज्यका कलाकारहरूको योगदानलाई उजागर गरेको छ।

दिलकुमारी तामाङका नामले समेत परिचित उनी सिक्किमको तादोङकी बासिन्दा हुन्। उनी धनबहादुर तामाङ र फूलमाया तामाङकी छोरी हुन्। नृत्य तथा सांस्कृतिक संरक्षणको क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव हासिल गरेकी उनले सिक्किम र भारतका परम्परागत लोक तथा जनजातीय नृत्यशैलीको प्रवर्द्धनमा आफ्नो जीवन समर्पित गरेकी छन्।

उनी डाइनामिक फ्लिकर्स डान्स एकेडेमीकी निर्देशक हुन्। यस संस्थामार्फत उनले युवा प्रतिभालाई प्रोत्साहन गर्ने, इच्छुक नर्तकहरूलाई प्रशिक्षण दिने तथा परम्परागत प्रदर्शनकारी कलाको प्रवर्द्धन गर्ने काम गर्दै आएकी छन्। उनको कार्यमा मारुनी, घाटु र तामाङ सेलोजस्ता लोकनृत्य परम्पराहरू समावेश छन्। उनले यी सांस्कृतिक अभिव्यक्तिको संरक्षण गर्नुका साथै तिनलाई व्यापक दर्शकमाझ पुर्‍याउन योगदान दिएकी छन्।

उस्ताद बिस्मिल्लाह खाँ युवा पुरस्कार तामाङका उपलब्धिहरूको सूचीमा अर्को महत्त्वपूर्ण सम्मानका रूपमा थपिएको छ। उनले नृत्य तथा संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानका लागि २०२३ मा नृत्य सेवा श्री सम्मान प्राप्त गरेकी थिइन्। उनी २०२२ मा आयोजित राष्ट्रिय जनजातीय नृत्य महोत्सवकी विजेतासमेत हुन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande