
गान्तोक, 20 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले टिङ्क्ये गोञ्जाङ रिम्पोछेसँग भेट गरी राज्यवासीको शान्ति, सुख र कल्याणका लागि उहाँको आशीर्वाद लिएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत यस भेटलाई अत्यन्तै सौभाग्यपूर्ण र विनम्रताको अनुभूति गराउने अवसरका रूपमा वर्णन गरेका छन्।
उनले रिम्पोछेको उपस्थितिले आध्यात्मिक शक्ति र प्रेरणा प्रदान गर्नुका साथै करुणा, ज्ञान, विनम्रता र सद्भावजस्ता शाश्वत मूल्यहरूको स्मरण गराउने बताएका छन्।
मुख्यमन्त्री तामाङले रिम्पोछेको आशीर्वादले सिक्किमवासीलाई निरन्तर मार्गदर्शन र संरक्षण प्रदान गर्दै प्रत्येक हृदयमा शान्ति तथा प्रिय सिक्किम राज्यमा समृद्धि ल्याउने विश्वाससमेत व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल