सिविटार: देवकोटा युथ क्लबद्वारा आयोजित दुर्गा पूजा हवनसँगै समापन
सिविटार: देवकोटा युथ क्लबद्वारा आयोजित दुर्गा पूजा हवनसँगै समापन


खरसाङ, 20 अक्टोबर (हि.स.)। महानदी ग्राम पञ्चायतअन्तर्गत सिविटार चियाबारीको गुम्बाडाँडास्थित देवकोटा युथ क्लबको आयोजनामा आयोजित श्री नवदुर्गा भवानी दुर्गा पूजा मंगलबार हवनसँगै समापन गरिएको छ। गत १० अक्टोबरमा महालय तथा ११ अक्टोबरमा घटस्थापनाका दिन मूर्ति स्थापना गरी शुरु गरिएको पूजाको मूर्ति विसर्जन भने २१ अक्टोबरमा गरिने भएको छ।

पूजा कार्यक्रमअन्तर्गत १२ अक्टोबरमा नौ देवीको पूजा गरिएको थियो भने त्यसपछि निरन्तर दुर्गा पूजा तथा विभिन्न धार्मिक अनुष्ठान सञ्चालन गरिएका थिए। गत १७ अक्टोबरमा सांस्कृतिक फूलपाती शोभायात्रा आयोजना गरिएको थियो।

यसैगरी, १८ र १९ अक्टोबरमा पूजा-अर्चना तथा २० अक्टोबरमा हवन सम्पन्न गरिएको आयोजक पक्षले जनाएको छ। पूजामा पण्डित मुक्तिनाथ ढकालले विधिपूर्वक पूजा-अर्चना गरेका थिए।

पूजाको समापनका अवसरमा मंगलबार वरिष्ठ नागरिकहरूलाई सम्मान जनाइयो। यसका साथै पूजालाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरूलाई धन्यवादस्वरूप सम्मान गरिएको थियो। यस क्रममा १२ देखि १३ जनालाई सम्मान जनाइएको जानकारी प्राप्त भएको छ।

मंगलबार साँझ बालबालिकालाई सहभागी गराएर नृत्य प्रतियोगितासमेत आयोजना गरिएको थियो। यस वर्ष सिविटारको गुम्बाडाँडास्थित देवकोटा युथ क्लबले आयोजना गरेको दुर्गा पूजाका लागि सरकारले पञ्जीकृत संस्थाहरूलाई प्रदान गर्ने अनुदानसमेत प्राप्त गरेको छ।

आयोजकका अनुसार, सिविटार क्षेत्रमा यस्तो अनुदान प्राप्त गर्ने यो पहिलो अवसर हो। पूजाका क्रममा सरकारी नियमहरूको पालना गर्दै विभिन्न सचेतनामूलक पोस्टर प्रदर्शन गर्नुका साथै जनचेतनामूलक अभियानहरू पनि सञ्चालन गरिएको थियो।

विशेषगरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ भन्ने नारासहित छोरीहरूसँग तस्बिर खिच्न मिल्ने विशेष स्थानको व्यवस्था गरिएको थियो। यसका साथै आँगनवाडी तथा आशाकर्मीहरूले १४ वर्षसम्मका बालबालिकाका लागि एचबीभी खोप लगाउनुपर्ने आवश्यकताबारे सचेतना फैलाएका थिए। अन्य विभिन्न सामाजिक विषयमा पनि जनचेतनामूलक अभियान सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ।

उल्लेखनीय छ, देवकोटा युथ क्लबको स्थापना १९७६ मा भएको थियो। यस वर्ष क्लब स्थापनाको ५० वर्ष पूरा हुन लागेको अवसरमा स्वर्ण जयन्ती समारोहसमेत आयोजना गरिने भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande