
कोलकाता, 24 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालमा मौसम मुख्यतया सुख्खा रहने अनुमान गरिएको छ। कोलकाता सहित दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा हाल वर्षा हुने चेताउनी छैन। तर, बङ्गालको खाडीमा बनेको न्यून चापको कारणले आगामी केही दिनमा मौसम परिवर्तन हुन सक्छ। मौसम विभाग अनुसार आगामी 28 अक्टोबरदेखि दक्षिण बङ्गालका विभिन्न जिल्लाहरूमा गर्जन सहित वर्षा हुने सम्भावना छ।
भारत मौसम विज्ञान विभाग (आईएमडी) अनुसार बङ्गालको खाड़ीको पूर्व-मध्य र योसँग संलग्न दक्षिण-पूर्वी भागमा विकसित निम्न चाप क्षेत्र बिस्तारै शक्तिशाली हुने सम्भावना छ। यो अक्टोबर 26 सम्ममा चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ। त्यसपछि, यो उत्तर आन्ध्र प्रदेश अनि दक्षिण ओडिशाको तटतर्फ बढ्ने सम्भावना छ।
मौसम विभागको पूर्वानुमान अनुसार 24 देखि 27 अक्टोबरसम्म दक्षिण बङ्गालमा मौसम मुख्यतया सुख्खा रहने सम्भावना छ। त्यसपछि 28 अक्टोबरदेखि कोलकाता सहित दक्षिण बङ्गालका धेरै वटा जिल्लाहरूमा गर्जन सहित वर्षा हुन सक्छ। पूर्व मेदिनीपुर, दक्षिण 24 परगना, पश्चिम मेदिनीपुर, झारग्राम, पुरुलिया एवं बाँकुड़ामा पनि भारी वर्षा हुने अनुमान गरिएको छ। केही ठाउँहरूमा हावाको गति 40 किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ।
उत्तर बङ्गालमा पनि अहिलेको लागि सामान्य मौसम रहने अनुमान गरिएको छ। यद्यपि, आईएमडीको उपविभागीय पूर्वानुमानले अक्टोबर 29 र 30 मा उप-हिमालय पश्चिम बङ्गालका केही भागहरूमा भारी वर्षा, आँधीबेहरी पाउनसक्ने पूर्वानुमान व्यक्त गरिएको छ।
मौसम विभागले समुद्री मौसमको अवस्थालाई ध्यानमा राख्दै अक्टोबर 26 देखि माछा मार्नेहरूलाई समुद्रमा नजान सल्लाह दिएको छ। मौसम विभागले आगामी दिनमा न्यून चाप क्षेत्रको अवस्था र दिशामाथि नजर राखिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा