
कोलकाता, 24 अक्टोबर (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीका बारेमा सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा पुलिसले एकजना वृद्ध व्यक्तिलाई पक्राउ गरेको छ। घटना हुगली जिल्लाको ब्याण्डेलमा भएको हो। पक्रा परेका व्यक्तिको पहिचान कार्तिक बनिकका रूपमा भएको छ। स्थानीयहरूले उनलाई बाबू भनेर चिन्छन्।
स्थानीय सूत्र अनुसार कार्तिक ब्याण्डेलको हेमन्त बसु कलोनीका बासिन्दा हुन्। छिमेकीको भनाइ छ, उनले टोलदेखि लिएर चिया पसलसम्म हुने बातचितसम्म मुख्यमन्त्रीविरुद्ध प्रतिकूल टिप्पणीहरू गर्ने गर्थे। तर उनले फेसबुकमा लाइभ आएर यस्तो टिप्पणी गर्नेछन् भन्ने कसैले कल्पना समेत गरेका थिएनन्।
फेसबुक लाइभमा मुख्यमन्त्रीका बारेमा अपमानजनक टिप्पणी गरेको आरोपमा भाजपाले पुलिसमा उजुरी दर्ता गरेको थियो। भाजपाका हुगली सङ्गठनात्मक जिल्ला आईटी सेलका नेता शाश्वत बन्दोपाध्यायले चुन्चुरा पुलिस स्टेशनमा उजुरी दिएका थिए। उजुरीको आधारमा पुलिसले अभियुक्तलाई पक्राउ गरेको छ।
भाजपाका सङ्गठनात्मक जिल्ला अध्यक्ष गौतम चट्टोपाध्यायले भने, शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको रूपमा पाँच महिनाभित्रमा गरेका कामहरूले गर्दा जनताबाट धेरै आशीर्वाद पाइरहेका छन्। उनले आरोप लगाए, तृणमूल कङ्ग्रेससँग सम्बन्धित धेरै मानिसहरूसँग अहिलेघरि काम छैन र पार्टी पनि कमजोर भइसकेको छ। यस्तो अवस्थामा कतिपय मानिसहरूको मुख्यमन्त्रीलाई गाली गर्नु नै काम भएको छ। उनले पुलिस र प्रशासनलाई त्यस्ता व्यक्तिहरूविरुद्ध कानुनी कारबाही गर्न र उनीहरूलाई सजाय दिने माग गरे।
स्थानीयहरू अनुसार पक्रा परेका व्यक्ति तृणमूल कङ्ग्रेसका समर्थक हुन्। तर, उनी सक्रिय पार्टी कार्यकर्ता थिए वा अझै पनि छन् भन्ने पुष्टि हुन सकेको छैन।
अर्कोतर्फ अभियुक्त कार्तिक बनिकले दाबी गरे, उनले फेसबुक लाइभको क्रममा नशाको अवस्थामा उक्त टिप्पणी गरेका थिए। उनले उक्त घटनामा दुःख व्यक्त गर्दै आफू कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नरहेको बताए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा