मणिपुरमा अन्तरराज्यिय लागुऔषध तस्करी सञ्जालका दुई प्रमुख आरोपी पक्राउ
The image shared by Manipur Police.


इम्फाल, २५ अक्टोबर (हि.स.)। मणिपुर पुलिसले अन्तरराज्यिय लागुऔषध तस्करी सञ्जाल विरुद्ध कारबाही गर्दै दुई जना प्रमुख आरोपीलाई पक्राउ गरेको छ। यो सञ्जालले मणिपुरमा अफिम खेती गर्ने व्यक्तिहरू र राजस्थानमा सक्रिय लागुऔषध तस्करहरूबीच सम्पर्क सूत्रका रूपमा काम गरिरहेको आशङ्का गरिएको छ। पुलिसले आइतवार यसबारे जानकारी दिएको हो।

पुलिस अनुसार, सेनापति जिल्ला पुलिसले २४ अक्टोबरमा सेनापति थानामा स्वापक औषधि तथा एनडीपीएस एक्ट अन्तर्गत दर्ता भएका तीन वटा मुद्दाको सिलसिलामा दुवै आरोपीलाई पक्राउ गरेको हो।

पक्रा परेका आरोपीहरूको पहिचान धनलाल रायका छोरा रोमन राय (२१) र दिलीप कुमार थापाका छोरा अमित कुमार थापा (३५) का रूपमा भएको छ। रोमन रायलाई काङ्गपोकपी जिल्लाबाट त्यहाँको पुलिसको सहयोगमा पक्राउ गरिएको हो भने अमित कुमार थापालाई बिष्णुपुर जिल्लाबाट स्थानीय पुलिसको सहयोगमा नियन्त्रणमा लिइएको हो।

दुवै आरोपी लामो समयदेखि फरार थिए। अमित कुमार थापा विरुद्ध अदालतले गैरजमानती वारन्ट समेत जारी गरेको थियो।

यी पक्राउसँगै तीन वटा मुद्दामा पक्राउ पर्ने आरोपीहरूको कूल सङ्ख्या सात पुगेको छ। पछिल्लो पटक पक्रा परेका दुवै आरोपी ती मुद्दाहरूमा साझा आपूर्तिकर्ताका रूपमा संलग्न रहेको आशङ्का गरिएको छ।

पुलिसले तस्करी सञ्जालका अन्य सदस्यहरूको पहिचान तथा पक्राउ गर्न र राजस्थानसम्म फैलिएका यसका सम्पर्कहरू पत्ता लगाउन थप अनुसन्धान भइरहेको जनाएको छ।

/ बिशाल


 rajesh pande