
गुवाहाटी, २५ अक्टोबर (हि.स.)। असमको चराइदेव जिल्लाका तीन जना नाबालिग केटीलाई आइतवार गुवाहाटी रेलवे स्टेशनबाट सकुशल उद्धार गरिएको छ। रेलवे कर्मीहरूले ‘अपरेशन नन्हे फरिश्ते’ अन्तर्गत उक्त कारबाही गरेका हुन्। प्राप्त जानकारी अनुसार, तीनै जना बालिका आफ्ना अभिभावकलाई जानकारी नदिई शहर घुम्न गुवाहाटी पुगेका थिए।
रेलवेको अपराध रोकथाम तथा पहिचान टोलीले प्लेटफर्म नम्बर चारबाट तीनै जना केटीको उद्धार गरेको हो। उपनिरीक्षक आरके दुबेको नेतृत्वमा अन्य रेलवे कर्मीहरूले यो अभियान सञ्चालन गरे। उद्धार गरिएका केटीहरूको उमेर १५, १६ र १७ वर्ष रहेको बताइएको छ।
सोधपुछका क्रममा बालिकाहरूले आफ्ना अभिभावकलाई जानकारी नदिई घरबाट निस्किएको र शहर घुम्ने उद्देश्यले गुवाहाटी आएको रेलवे कर्मीहरूलाई बताएको जनाइएको छ।
उद्धार गरिएका केटीहरूमध्ये १५ र १६ वर्षका दुई जना साख्खै दिदी-बहिनी हुन् भने अर्की केटी १७ वर्षकी छन्। तीनै जना असमको चराइदेव जिल्ला अन्तर्गत बोरहाट पुलिस थानाको क्षेत्र पर्ने लुहोलियाका बासिन्दा हुन्।
रेलवे कर्मीहरूले आवश्यक औपचारिकता पूरा गरेपछि रेलवे चाइल्डलाइन, गुवाहाटी मार्फत तीनै जना केटीलाई कामरूप महानगर जिल्लाको बाल कल्याण समितिकी अध्यक्षको जिम्मा लगाएका छन्। आवश्यक थप कारबाहीका लागि उनीहरूलाई सुरक्षित संरक्षणमा राखिएको छ।
‘अपरेशन नन्हे फरिश्ते’ रेलवेले सञ्चालन गरेको एउटा पहल हो। यसको उद्देश्य रेलवे स्टेशन तथा रेलहरूमा हेरचाह र संरक्षण आवश्यक पर्ने बालबालिकाको पहिचान गरी उनीहरूको सुरक्षित उद्धार गर्नु हो। यस अभियान अन्तर्गत त्यस्ता बालबालिकालाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै सम्बन्धित बाल कल्याण अधिकारीसम्म पुर्याउने प्रयास गरिन्छ।
/ बिशाल