सिक्किममा पहिलो हिमाली याक महोत्सवको तयारीको समीक्षा
सिक्किममा पहिलो हिमाली याक महोत्सवको तयारीको समीक्षा


नाथाङ, 26 अक्टोबर (हि.स.)। नाथाङ माचोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चाले कृषि, पशुपालन तथा पशु चिकित्सा सेवा, मत्स्यपालन र बागवानी विभागका मन्त्री पुरणकुमार गुरुङसँग आज क्षेत्रअन्तर्गत नाथाङमा पहिलो सिक्किम हिमाली याक महोत्सवको तयारीको समीक्षा गरेकी छन्।

उनले २७ देखि २९ अक्टोबरम्म आयोजना हुने उक्त महोत्सवले सिक्किमको परम्परागत जीविकोपार्जन, सांस्कृतिक सम्पदा र उच्च हिमाली पारिस्थितिक प्रणालीमा याकको महत्त्वपूर्ण भूमिकालाई उजागर गर्ने उद्देश्य राखेको सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेकी छन्। उनले स्थानीय याकपालकहरूको योगदानको कदर गर्दै याकको संरक्षण, सुरक्षा र कल्याणबारे जनचेतना फैलाइने बताएकी छन्।

भ्रमणका क्रममा टोलीले नाथाङमा निर्माणाधीन ब्रिटिश सैनिक युद्ध स्मारकको पनि निरीक्षण गरी निर्माण कार्यको प्रगतिको समीक्षा गर्‍यो। उनले ऐतिहासिक महत्त्व बोकेको यस स्मारकले क्षेत्रको समृद्ध इतिहास र सम्पदालाई भावी पुस्ताका लागि संरक्षण तथा सम्मान गर्नुपर्ने सामूहिक दायित्वलाई प्रतिबिम्बित गर्दछ भनेकी छन्।

विधायक लेप्चाले यी भ्रमणले सिक्किमको सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन, परम्परागत जीविकोपार्जनको संरक्षण र ऐतिहासिक महत्त्वका स्थलहरूको जगेर्नाप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताएकी छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande