
खरसाङ, 26 अक्टोबर (हि.स.)। खरसाङ बजारमा लगातार बढिरहेको ट्राफिक जामको समस्यालाई ध्यानमा राख्दै प्रशासनले विभिन्न सेण्टिकेटका सवारीसाधन सडकमा राख्न प्रतिबन्ध लगाएपछि चालकहरूले यसको समाधानका लागि आज पुलिस प्रशासनका अधिकारीहरू र खरसाङका विधायक सोनाम लामासँग भेट गरी ज्ञापनपत्र बुझाएका छन्।
प्राप्त जानकारीअनुसार, गत २४ अक्टोबरमा पुलिस प्रशासनले खरसाङका विभिन्न सेण्टिकेटमा आबद्ध सवारीसाधन सडकमा राख्न नदिने निर्णय गरेको थियो। २५ अक्टोबरदेखि लागू भएको उक्त निर्णयपछि सोमबार, २६ अक्टोबरमा चालकहरूले गाडी सञ्चालन बन्द गरी प्रशासनसँग छलफल गरेका हुन्।
विधायक सोनाम लामाको उपस्थितिमा खरसाङका २२ वटा सेण्टिकेटका चालकहरूलाई समेटेर बैठक आयोजना गरिएको थियो। बैठकमा खरसाङ महकुमा पुलिस अधिकारी, ट्राफिक निरीक्षक पिन्टु मुखर्जी, आईसी पलास मोहन्तो, खरसाङ ट्राफिक पुलिस प्रभारी विकास चामलिङलगायत चालक प्रतिनिधिहरू सहभागी थिए। बैठकमा सडकमा सवारीसाधन राख्ने व्यवस्था र विभिन्न सेण्टिकेटलाई अन्यत्र स्थानान्तरण गर्ने विषयमा छलफल भएको थियो। दुवै पक्षबाट समस्या समाधानका लागि विभिन्न सुझाउहरू प्रस्तुत गरिएको बताइएको छ।बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै विधायक सोनाम लामाले खरसाङमा लामो समयदेखि ट्राफिक समस्या रहँदै आएको बताए। बजारका प्रमुख स्थानमा सवारीसाधन राख्ने र सेण्टिकेट सञ्चालन गर्ने व्यवस्थाका कारण जाम बढेपछि प्रशासनले सम्बन्धित स्थानहरूबाट सवारीसाधन हटाउने निर्देशन दिएको उनले बताए।जनताको समस्या र गुनासोलाई ध्यानमा राखेर पुलिस प्रशासनले कडाइका साथ कदम चालेको उल्लेख गर्दै उनले चालकहरू र प्रशासनबीच सहमति खोज्न आफू पनि बैठकमा सहभागी भएको जानकारी दिए। उनले ट्राफिक समस्या समाधान गर्न विभिन्न चालक सङ्घलाई स्थानान्तरण गरिएको र हिल कार्ट रोडलाई पूर्ण रूपमा खुल्ला राख्ने योजना रहेको बताए। खरसाङमा व्यवस्थित पार्किङस्थल निर्माण गर्न सरकारसमक्ष निरन्तर माग गरिरहेको र यससम्बन्धी काम पनि अघि बढिरहेको उनले जानकारी दिए। स्थायी पार्किङस्थल तयार नहुँदासम्म ट्राफिक समस्या नियन्त्रण गर्न प्रशासनले अस्थायी उपाय अपनाएको उनको भनाइ थियो।यता, चालक सङ्घ र फाटक सेण्टिकेटका सङ्घका सभापति वीरेन्द्र तामाङ र घैयाबारी सेण्टिकेटका सभापति धीरेन खातीले पुलिस प्रशासनले सडकमा गाडी राख्न नदिएको र प्रशासनले अघि सारेका सुझाउप्रति आफूहरू सन्तुष्ट नरहेको बताए। उनीहरूले मंगलबार पनि सवारीसाधन पुरानै स्थानमा राख्ने निर्णय गरेको जानकारी दिँदै पुलिसले कारबाही गरेमा गाडी र चाबी त्यहीँ छाडिदिने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक