
गान्तोक, 26 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र उनका दिवङ्गत पितामाथि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खरगेले गरेको टिप्पणीको भाजपाको सिक्किम एकाइले कडा निन्दा गरेको छ। प्रदेश भाजपाले खरगेको टिप्पणीलाई आपत्तिजनक तथा अमर्यादित बताउँदै यस्तो भाषाले राजनीतिक बहसको स्तरमा आएको गिरावट र मानवीय मर्यादाप्रतिको सम्मानको कमीलाई प्रतिबिम्बित गर्ने उल्लेख गरेको छ।
भाजपा सिक्किमले आज सामाजिक सञ्जाल पोस्टमा कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खरगेको टिप्पणीको कडा निन्दा गरिएको बताएको छ। भाजपा सिक्किमले भनेको छ, केन्द्रमा झन्डै १२ वर्षदेखि सत्ताबाहिर रहेको कांग्रेस जनताको समर्थन प्राप्त गर्न नसकेपछि निराश भएको छ। रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने, विश्वसनीय विकल्प प्रस्तुत गर्ने तथा विकास र सुशासनका विषयमा बहस गर्ने सट्टा कांग्रेस नेतृत्वले बारम्बार व्यक्तिगत आक्षेप र उत्तेजक अभिव्यक्तिको सहारा लिने गरेको छ।
भाजपाले विरोध प्रदर्शन, विवाद सिर्जना गर्ने प्रयास र व्यक्तिगत अपमानबाट राजनीतिक दलले जनताको विश्वास पुनः प्राप्त गर्न नसक्ने जनाएको छ। दलको विश्वसनीयता कार्यसम्पादन, रचनात्मक आलोचना र राष्ट्रका लागि स्पष्ट दृष्टिकोणबाट स्थापित हुनुपर्ने उल्लेख गर्दै कांग्रेसलाई प्रधानमन्त्रीको परिवारमाथि टिप्पणी गर्नुभन्दा आफ्नै राजनीतिक असफलताबारे आत्मसमीक्षा गर्न आग्रह गरेको छ।
भाजपा सिक्किमले लोकतन्त्रमा राजनीतिक मतभिन्नता स्वाभाविक भए पनि आपसी सम्मान र मर्यादामा सम्झौता गर्न नहुने बताएको छ। साथै, कांग्रेस नेतृत्वलाई सार्वजनिक जीवनको गरिमा कायम राख्न, अभिव्यक्तिमा संयम अपनाउन र भारतीय जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेको छ। राष्ट्रलाई व्यक्तिगत आक्षेप र निराशाबाट प्रेरित राजनीतिभन्दा जिम्मेवार प्रतिपक्षको आवश्यकता रहेको भाजपा सिक्किमले बताएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल