
नाम्ची, 06 अक्टूबर (हि.स.)। नाम्चीकी जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा मङ्गलवार नाम्चीस्थित जिल्ला प्रशासनिक केन्द्रमा महकुमा अधिकारीलाई लिएर आयोजित एक बैठक सम्पन्न भयो।
बैठकको क्रममा जिल्लापालले सम्बन्धित महकुमा अधिकारीहरूलाई आ-आफ्नो कार्यक्षेत्रमा बर्खायामका कारण भएका मुख्य क्षतिको पहिचान तथा मूल्याङ्कन गर्न र स्थलगत स्थितिको आधारमा आवश्यक कारबाही अघि बढ़ाउन निर्देशन दिइन्।
उनले डढेलोका घटनाहरूप्रति उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा जोड़ दिँदै महकुमाहरूलाई डढ़ेलोको उच्च जोखिम भएका क्षेत्रहरूको पहिचान र प्रमाणीकरण गर्न निर्देशन दिइन्। यसका साथै उनले आवश्यकता पर्दा तत्काल कार्यान्वन गर्न सकिने गरी आपदा पूर्वतयारी तथा प्रतिक्रियाका उपायहरू सुनिश्चित हुनुपर्ने महत्त्वमाथि पनि जोड़ दिइन्।
जिल्लाका विभिन्न भागमा पैह्रोका कारण सड़क सम्पर्कमा देखिएका समस्याहरूको समीक्षा गर्दै उनले सम्बन्धित महकुमा अधिकारीहरूलाई क्षतिको अवस्था निरीक्षण तथा प्रमाणीकरण गर्न र प्रभावित सड़क खण्डहरू सफा गर्ने तथा यातायात सुचारु गर्ने लगायतका आवश्यक कदमका लागि सम्बन्धित विभागहरूसँग समन्वय गर्न निर्देशन दिइन्।
बैठकमा जनसुविधा र सेवाहरूको प्रभावकारी प्रवाहसम्बन्धी अन्य विभिन्न विषयमा पनि छलफल गरियो र सम्बन्धित महकुमाबाट प्राप्त सुझाउहरूको आधारमा जिल्लापालले आवश्यक निर्देशनहरू प्रदान गरिन्।
बैठकमा नाम्चीका अतिरिक्त जिल्लापाल (मुख्यालय) सुवास घिमिरे, नाम्चीकी अतिरिक्त जिल्लापाल त्रिसाङ तामाङ, महकुमा अधिकारी (मुख्यालय) निम पिञ्छो भोटियासहित अन्यको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल