
गान्तोक, 06 अक्टोबर (हि.स.)। सिक्किम सरकारका सडक तथा पुल विभागका मन्त्री एनबी दाहालले गुजरातको एकता नगरमा आयोजित सडक यातायात तथा राजमार्ग मन्त्रालयको दुईदिने ‘चिन्तन शिविर २०२६’ मा सिक्किमको प्रतिनिधित्व गरेका छन्। ५ अक्टोबरदेखि शुरु भएको चिन्तन शिविरको उद्घाटन केन्द्रिय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले गरेका हुन्।
कार्यक्रममा टाशी भ्यू पोइन्टदेखि मङ्गनसम्मको सडक विस्तारको काम अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। यसैगरी, रम्फू-रोड़ाथाङ सड़कको मर्मतसम्भारको जिम्मेवारी राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडले लिने बताइएको छ।
राष्ट्रिय राजमार्ग १० अन्तर्गत रम्फूदेखि रानीपुलसम्मको सडकखण्ड विस्तारका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको र दिसम्बर-जनवरीदेखि निर्माण कार्य शुरु हुने जानकारी कार्यक्रममा दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, मल्लीदेखि सिङ्तामसम्म नयाँ सडक निर्माणका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन स्वीकृतिका लागि सडक यातायात तथा राजमार्ग मन्त्रालयमा पेश भइसकेको जानकारी पनि दिइएको छ।
मन्त्री दाहालसँगै सडक तथा पुल विभागका प्रधान अभियन्ता तथा अतिरिक्त प्रमुख अभियन्ता पनि चिन्तन शिविरमा सहभागी थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल