
गान्तोक, ०७ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किम ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल रूपमा सहभागी हुँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवा तथा शासन यात्राको २५ वर्ष पूरा भएको अवसरमा आयोजित सम्बोधन सुनेको छ। सिङ्तामस्थित भाजप सिक्किमको राज्य पार्टी कार्यालयबाट भर्चुअल कार्यक्रममा राज्य अध्यक्ष डीआर थापासहित राज्य पदाधिकारी, पार्टी कार्यकर्ता तथा विभिन्न संगठनात्मक तहका कार्यकर्ताहरू सहभागी भएका थिए।
कार्यक्रमले प्रधानमन्त्री मोदीको २५ वर्षे सेवा, संकल्प र राष्ट्रप्रतिको समर्पणलाई स्मरण गर्ने अवसर प्रदान गरेको पार्टीले प्रेस विज्ञप्तिमा जनाएको छ। प्रधानमन्त्रीको सम्बोधनपछि राज्य अध्यक्ष थापाले प्रधानमन्त्री मोदीको राष्ट्रप्रतिको समर्पण र प्रतिबद्धताको प्रशंसा गर्दै कार्यकर्ताहरूलाई विकसित भारत र विकसित सिक्किमको लक्ष्य प्राप्तिका लागि समर्पित भएर काम गर्न आह्वान गरे।
थापाले ७६ वर्षको उमेरमा पनि प्रधानमन्त्री मोदीले देखाइरहेको निरन्तर ऊर्जा र समर्पणबाट कार्यकर्ताहरूले प्रेरणा लिनुपर्ने बताए। उनले प्रधानमन्त्रीको ‘हामी यो गरेर देखाउनेछौँ’ भन्ने आह्वानलाई आत्मसात् गर्दै आत्मविश्वास र दृढ संकल्पका साथ अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरे।
यस अवसरमा राज्य अध्यक्षको नेतृत्वमा भाजप सिक्किमका कार्यकर्ताहरूले विकसित भारत र विकसित सिक्किमको लक्ष्य साकार पार्न समर्पित भएर योगदान गर्ने सामूहिक शपथ पनि लिए।
कार्यक्रमपछि ‘सेवा ज्योति यात्रा’ आयोजना गरिएको थियो। राज्य पार्टी कार्यालयबाट शुरु भएको यात्रा सिङ्ताम पुलसम्म पुगेको थियो। यात्रामार्फत प्रधानमन्त्री मोदीको २५ वर्षे सार्वजनिक सेवाको स्मरण गर्दै सेवा र संकल्पको भावना पुनः प्रतिबद्ध गरिएको पार्टीले जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल