
खरसाङ, ०७ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा भारतीय जनता पार्टीद्वारा सञ्चालित ‘सेवा संकल्प अभियान’ अन्तर्गत बुधबार साँझ खरसाङमा ‘सेवा ज्योति’ कार्यक्रम आयोजना गरिएको छ।
प्रधानमन्त्री मोदीको २५ वर्षको सार्वजनिक सेवा र समर्पणलाई स्मरण गर्दै आयोजित कार्यक्रममार्फत सेवा, सुशासन र राष्ट्रप्रतिको समर्पणको सन्देश प्रवाह गरिएको भाजपा पक्षले जनाएको छ। कार्यक्रमले खरसाङको पर्यटन तथा स्थानीय क्षेत्रलाई समेत उजागर गर्ने उद्देश्य राखेको बताइएको छ।
कार्यक्रमअन्तर्गत खरसाङको टुरिस्ट लजदेखि राष्ट्रिय राजमार्ग हुँदै वर्धमान रोड भएर मोटर स्ट्यान्डसम्म र्याली निकालिएको थियो। र्यालीमा भाजपा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद, जिल्ला सचिव तथा प्रवक्ता निरज थापा, जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, जिल्ला उपाध्यक्ष आरबी लामा, खरसाङ ११ मण्डल अध्यक्ष सञ्जय थापा, १२ मण्डल अध्यक्ष दिक्षा तामाङलगायत पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरू सहभागी थिए।
कार्यक्रमबारे पत्रकारहरूसँग कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसादले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गुजरात तथा देशको सेवामा २५ वर्ष पूरा भएको अवसरमा सेवा संकल्प अभियानअन्तर्गत खरसाङमा ‘सेवा ज्योति’ कार्यक्रम आयोजना गरिएको बताए। टुरिस्ट लजदेखि मोटर स्ट्यान्डसम्म र्याली आयोजना गरिएको जानकारी दिँदै उनले प्रधानमन्त्री मोदीको सेवा, संकल्प, सुशासन र समर्पणको २५ वर्ष पूरा भएको अवसरमा सबैलाई राष्ट्रसेवामा समर्पित हुन आह्वान गरे।
त्यसैगरी, भाजपा दार्जिलिङ जिल्ला सचिव तथा प्रवक्ता निरज थापाले मोदी गुजरातका मुख्यमन्त्री रहँदा ‘गुजरात मोडेल’ देशभर चर्चित बनेको र सन् २०१४ देखि प्रधानमन्त्रीका रूपमा उनले देशको नेतृत्व गरिरहेको बताए। मोदीको सेवा, संकल्प, सुशासन र समर्पणको २५ वर्षले आफूहरूलाई राष्ट्रसेवामा समर्पित हुन प्रेरणा दिएको उनले बताए।
थापाले देशका अन्य क्षेत्रजस्तै पहाडी क्षेत्रलाई पनि मूलधारमा समेट्दै निरन्तर विकासको दिशामा अघि बढाउन पहाडवासीलाई आग्रह गरे।
हिन्दुस्थान समाचार / हनोक