
खरसाङ, ०७ अक्टोबर (हि.स.)। दार्जिलिङमा ८ अक्टोबरका दिन आयोजना हुने ग्लोबल शेर्पा मिटमा सहभागी हुन आएका ग्लोबल शेर्पा एसोसिएसनका पदाधिकारी तथा प्रतिनिधिहरूलाई खरसाङ शेर्पा एसोसिएसनको तर्फबाट बुधबार खरसाङमा भव्य स्वागत गरिएको छ।
विश्वका ३५ वटा देशबाट आएका ग्लोबल शेर्पा एसोसिएसनका पदाधिकारी तथा प्रतिनिधिहरूलाई खरसाङ नगरपालिका क्षेत्रको वार्ड नम्बर ७ अन्तर्गत स्वतन्त्रता सेनानी सावित्री देवी पथबाट शेर्पा जातिको पारम्परिक भेषभूषा, रीतिरिवाज तथा सांस्कृतिक नृत्यसहित स्वागत गरिएको थियो। त्यसपछि स्वागत कार्यक्रम शेर्पा बस्तीस्थित धारगेलिङ गुम्बामा आयोजना गरियो।
खरसाङ शेर्पा एसोसिएसनका अध्यक्ष दावा शेर्पाले स्वागत मन्तव्य राख्दै अतिथिहरूलाई स्वागत गर्नुका साथै खरसाङमा शेर्पा समुदायको इतिहासबारे जानकारी गराएका थिए। कार्यक्रममा विश्व शेर्पा एसोसिएसनका अध्यक्ष थेन्डुप शेर्पा, संस्थापक एवं पूर्व अध्यक्ष आङ दोर्जे शेर्पा, शेर्पा एसोसिएसन भारत र नेपालका अध्यक्षद्वय तथा खेन्बो पासाङ दावा शेर्पा र खेन्बो नवाङ खुसेनलगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
उनीहरूकै बाहुलीबाट ‘फेमर’ अर्थात् केक काटेर कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा ग्लोबल शेर्पा एसोसिएसनका पदाधिकारी तथा विभिन्न देशबाट आएका प्रतिनिधिहरूबीच परिचय आदानप्रदानसमेत गरिएको थियो। कार्यक्रममा खरसाङ शेर्पा एसोसिएसनका सल्लाहकार पासाङ डेन्डुप शेर्पाले धन्यवाद ज्ञापन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक