
सोनादा, ०७ अक्टोबर (हि.स.)। रङ्ली रङ्लियट चियाबारीका श्रमिकहरूको बक्यौता रकम, वेतन तथा बोनस तत्काल भुक्तानी गर्न माग गरिएको छ। चियाबारीका श्रमिकहरूको विभिन्न समस्या तथा बक्यौता भुक्तानीको विषयमा सिलगढीको डागापुरस्थित श्रमिक भवनमा उत्तर बंगाल क्षेत्रका अतिरिक्त श्रम आयुक्त अमोल मजुमदारसँग भेट गरी समस्याबारे विस्तृत रूपमा जानकारी गराइएको हो।
भेटका क्रममा भारतीय जनता पार्टीको श्रमिक संगठनका दार्जिलिङ जिल्ला महासचिव प्रणय शेर्पाले रङ्ली रङ्लियट चियाबारीमा कार्यरत श्रमिकहरूले लामो समयदेखि आफ्नो बक्यौता रकम तथा वेतन प्राप्त गर्न नसकेको विषय गम्भीर रूपमा उठाएका थिए। यसका साथै आर्थिक वर्ष २०२५-२६ का लागि सरकारले तोकेको समयसीमा समाप्त भइसक्दा पनि श्रमिकहरूलाई बोनस भुक्तानी नगरिएको विषयमा पनि ध्यानाकर्षण गराइएको थियो।
श्रमिकहरूले इमानदारीपूर्वक आफ्नो श्रम तथा योगदान दिइरहेको अवस्थामा उनीहरूको पारिश्रमिक, बक्यौता रकम तथा कानुनी रूपमा पाउनुपर्ने बोनस रोकिराख्नु अन्यायपूर्ण भएको भन्दै महासचिव शेर्पाले श्रम कानुन तथा सरकारी निर्देशनको अवहेलना गर्ने चियाबारी व्यवस्थापनमाथि कडा कानुनी तथा प्रशासनिक कारबाही गर्न माग गरेका छन्।
साथै, श्रमिकहरूको आर्थिक अवस्था तथा चाडपर्वको समयलाई ध्यानमा राख्दै बक्यौता वेतन र बोनस यथाशीघ्र भुक्तानी गराउन श्रम विभागले प्रभावकारी पहल गर्नुपर्ने मागसमेत राखिएको छ।
हिन्दुस्थान समाचार / हनोक