२१, २२ र २३ नोभेम्बरमा 'पैय्यु टुर २०२६' आयोजना हुनो
२१, २२ र २३ नोभेम्बरमा 'पैय्यु टुर २०२६' आयोजना हुनो


गान्तोक, 0७ अक्टोबर (हि.स.)। पर्यटनमार्फत समुदायलाई जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको 'पैय्यु टुर २०२६' का लागि 'डिस्कभर तिमी' टोलीले आज तिमी नाम्फिङ निर्वाचन क्षेत्रका विधायक बेदु सिंह पन्तसँग भेट गरी कार्यक्रमसम्बन्धी जानकारी साझा गर्दै आयोजनाको मिति सार्वजनिक गरेको छ।

भेटका क्रममा टोलीले अरुणाचल प्रदेशको ३९औँ मेबो निर्वाचन क्षेत्र र सिक्किमको तिमी नाम्फिङ निर्वाचन क्षेत्रबीच समुदायमा आधारित पर्यटन, सांस्कृतिक आदानप्रदान तथा दिगो पर्यटन प्रवर्द्धनका लागि भएको समझदारीपत्रबारे जानकारी दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

जानकारी अनुसार, पैय्यु टुर २०२६ आगामी २१, २२ र २३ नोभेम्बरमा आयोजना हुनेछ। कार्यक्रममा अरुणाचल प्रदेश, भूटान, नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट अतिथिहरू र २० भन्दा बढी स्वयं सहायता समूहका नेतृत्वहरू सहभागी हुनेछन्।

टुरअन्तर्गत परम्परागत पर्यटकीय गन्तव्यसँगै गाउँ, सम्पदा स्थल, कृषि क्षेत्र, सांस्कृतिक स्थान तथा पर्यटनको परम्परागत नक्सामा अझै नसमेटिएका लुकेका गन्तव्यहरूको भ्रमण गराइनेछ। समुदायको सहभागितामा जिम्मेवार र स्थानीय पर्यटन प्रवर्द्धन गर्दै यी गन्तव्यलाई पर्यटनको नक्सामा ल्याउने उद्देश्य रहेको टोलीले जनाएको छ।

विधायक बेदु सिंह पन्तले ‘सुनौलो, समृद्ध सिक्किम’ को दृष्टिकोणलाई अघि बढाउँदै निर्वाचन क्षेत्रमा समुदायमा आधारित पर्यटन प्रवर्द्धन गर्न गरेको प्रयासका लागि ‘डिस्कभर तिमी’ टोलीलाई बधाई तथा शुभकामना दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande