
गान्तोक, ०७ अक्टोबर (हि.स.)। सिक्किम सूचना आयोगले बुधवार चिन्तन भवनमा ‘पारदर्शिता नै जवाफदेहिताको आधार हो’ भन्ने नाराका साथ सूचनाको अधिकार अधिनियम (आरटीआई) सप्ताह 2026 पालन गरेको छ। सूचनाको अधिकार अधिनियम (आरटीआई), 2005 बारे जनचेतना अभिवृद्धि गर्न तथा सुशासनमा पारदर्शिता, जवाफदेहिता र सुसूचित नागरिक सहभागिताको महत्त्वलाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा कार्मिक विभागकी सचिव नोर्जिङ छिरिङ शेङ्गा विशेष अतिथिका रूपमा उपस्थित रहेकी थिइन्। सिक्किम सूचना आयोगकी सचिव ज्योत्स्ना एम कार्थकले आरटीआई सप्ताहको अवसरमा आयोगद्वारा आयोजित विभिन्न कार्यक्रम तथा जनचेतनामूलक गतिविधिबारे उपस्थितहरूलाई जानकारी गराइन्।
उनले आरटीआई ऐनबारे व्यापक चेतना जगाउनुका साथै सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न नागरिक, विशेषगरी विद्यार्थी र युवाहरूलाई उनीहरूको भूमिकाबारे बुझ्न प्रोत्साहित गर्नुको महत्त्वमाथि प्रकाश पारिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम सूचना आयोगका मुख्य सूचना आयुक्त कुबेर भण्डारीले आरटीआई सप्ताह मनाउनाले सूचनाको अधिकार अधिनियम (आरटीआई), 2005 माथि समीक्षा गर्ने तथा दैनिक प्रशासनमा यसका प्रावधानहरू कति प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन् भनी मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको बताए।
उनले सूचनाको हक एक प्रक्रियागत कानून मात्र नभएर पारदर्शिता, जवाफदेहिता र सुसूचित नागरिक समाजको प्रवर्द्धनका साथै शासन व्यवस्थामा नागरिकहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने एक महत्त्वपूर्ण माध्यम भएको बताए।
भण्डारीले तल्लो तहसम्म आरटीआई ऐनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न राज्य सार्वजनिक सूचना अधिकारी (एसपीआईओ) र प्रथम पुनरावेदन अधिकारी (एफएए)-को महत्त्वपूर्ण भूमिका रहेको विषयमा जोड़ दिए।
आरटीआई ऐन, 2005 को दफा 4 को सन्दर्भ उल्लेख गर्दै उनले सार्वजनिक निकायहरूको कार्यप्रणाली र अन्य तोकिएका विवरणहरूसम्बन्धी जानकारी सक्रिय रूपमा सार्वजनिक गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए। उनले आरटीआई ऐन अन्तर्गतका पुनरावेदनहरूको उचित जाँचबुझ र सम्बोधन सुनिश्चित गर्न प्रथम पुनरावेदन अधिकारीहरूको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए।
उनले तोकिएको कार्यविधिभित्र रहेर सुनवाइ प्रक्रिया अघि बढ़ाउन सम्बन्धित निकायहरूलाई आग्रह गरे। उनले प्रभावकारी विभागीय पुनरावेदन संयन्त्रले विभागकै तहमा गुनासा समाधान गर्न र आयोगसमक्ष पर्ने दोस्रो पुनरावेदनको भार कम गर्न मद्दत पुर्याउने कुरा औँल्याए।
भण्डारीले सूचनाको हक (आरटीआई ) सम्बन्धी संयन्त्रलाई थप पहुँचयोग्य बनाउन प्रविधिले निर्वाह गर्ने भूमिकामाथि पनि प्रकाश पारे। उनले भौतिक उपस्थितिसहित भिडियो कन्फ्रेन्सिङको प्रयोगले पहुँच बढ़ाएको र लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यतामा रहेका नागरिकहरूले भोग्ने कठिनाइहरू कम गरेको बताए। उनले समावेशी तथा पहुँचयोग्य सुशासन प्रवर्द्धन गर्न प्रविधि एक महत्त्वपूर्ण साधन बन्न सक्ने कुरा राखे।
उनले नागरिकहरूलाई सही र अद्यावधिक जानकारी उपलब्ध गराउन आ-आफ्ना अनलाइन प्लेटफर्म, वेबसाइट र ड्यासबोर्डहरू नियमित रूपमा अद्यावधिक गर्न विभागहरूलाई आग्रह गरे।
आयोगका पहुँच विस्तारसम्बन्धी पहलहरूको चर्चा गर्दै कुबेर भण्डारीले विद्यार्थीहरूमाझ सूचनाको हक ऐनबारे चेतना जगाउन आयोगले विद्यालय र कलेजहरूसम्म पहुँच पुर्याइरहेको बताए। उनले चेतना अभिवृद्धिमा शिक्षक र विद्यार्थीहरूको प्रयासको प्रशंसा गरे र यस्ता पहलहरूले युवा पुस्तालाई लोकतन्त्रमा पारदर्शिता, जवाफदेहिता र सुसूचित सहभागिताको महत्त्व बुझ्न सहयोग पुर्याउने बताए।
यसअघि, सिक्किम सूचना आयोगका अधिकारीहरूले सूचनाको अधिकार अधिनियम 2005 बारे चेतना जगाउन संक्षिप्त प्रस्तुति दिए।
वाकपटुता प्रतियोगितामा मोडर्न उच्चतर माध्यमिक विद्यालयकी ओतीहाङमा सुब्बाले पहिलो स्थान हासिल गरिन्। त्यसैगरी, बुर्तुक माध्यमिक विद्यालयकी श्रिया दास र आरिथाङ माध्यमिक विद्यालयकी नैना राईले तेस्रो स्थान हासिल गरे।
अन्तरविद्यालय नाटक प्रतियोगितामा टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गर्यो। त्यसैगरी देवराली कन्या उच्चतर माध्यमिक विद्यालय र बोझोघारी उच्चतर माध्यमिक विद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गरे।
रिल्स प्रतियोगितामा देयथाङ माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गर्यो। लोअर स्यारी माध्यमिक विद्यालयले दोस्रो स्थान र नाण्डोक माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरे।
हिन्दुस्थान समाचार / बिशाल